काठमाडौँ ।
घरेलु टोली स्कटल्यान्डले आइसिसी क्रिकेट विश्वकप लिगको चौथो खेलमा नामिबियामाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ । नामिबियाविरुद्ध स्कटल्याण्डको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा उसले नामिबियालाई ७७ रनले हराएको थियो ।
नामिबियाले दिएको २ सय १६ रनको लक्ष्य स्कटल्याण्डले ४८ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । घरेलु टोलीका लागि कलुम म्याकडोनेल्ट र क्रिस ग्रेभिसले अर्धशतकीय इनिङ खेले । म्याकडोनेल्टले ५९ रन बनाए । क्रिसले अविजित रहदै ५३ रन बनाए ।
शफियान सरिफले अविजित रहदै ४० तथा म्याथ्यु क्रसले २९ रन बनाए । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले ३ तथा बेन सिकेन्गो,जान फ्रायलिक र डेबिड विजले समान १/१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो । नामिबियाका जान फ्रायलिक र ग्रेहार्ड इयरमोर्सले अर्धशतकीय इनिङ खेले । फ्रायलिकले अविजित रहदै ६० रन बनाए । कप्तान इयरमोर्सले ५६ रन बनाए । जेजे स्मिथले २६ तथा डिवान ला ककले २३ रन बनाए ।
घरेलु टोलीका लागि हम्जा ताहिर र गाभिन मेनले समान ३/३ विकेट लिए । जितसँगै स्कटल्याण्डले २३ खेलबाट ३२ अंक जोडेको छ । स्कटल्याण्ड अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । ७ देश सम्मिलित लिग-२ मा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ।
ओमानले लिग-२ अन्तर्गतका सबै खेल खेलिसकेको छ। २३ खेलबाट ३२ अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छन्। पाँचौ स्थानको नेपालले १८ खेलबाट १७ अंक जोडेको छ। छैठौं स्थानको नामिबियाले १७ खेलबाट १६ अंक जोडेको छ। २० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी सातौं स्थानमा छ।
सिरिजमा नेपालको खेल : नेपाल भर्सेस नामिबिया – असार २७, नेपाल भर्सेस स्कटल्यान्ड – असार २९, नेपाल भर्सेस नामिबिया – असार ३२, नेपाल भर्सेस स्कटल्यान्ड – साउन १