काठमाडौं ।
पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले पछिल्लो समय खराब लयबाट गुज्रिरहेका आफ्नो पुस्ताका प्रतिभाशाली भारतीय ब्याट्सम्यान विराट कोहलीलाई साथ दिँदै हौसला दिएका छन् । अधिकांश पूर्वक्रिकेटरले उनलाई भारतीय टोलीबाट तत्कालका लागि विश्राम दिन माग गरिरहेका छन् ।
चोटका कारण इंग्ल्याण्डविरुद्धको पहिलो एकदिवसीय खेल गुमाएका कोहलीले दोस्रो खेलमा १६ रन बनाए, जुन खेलमा भारत १०० रनले पराजित भएको थियो।
इंग्ल्यान्डमा पनि ब्याटिङमा चुकेका विराटले शतक प्रहार गर्न नसकेको ७७ अन्तर्राष्ट्रिय खेल भइसकेको छ। बिहीबार घोषणा गरिएको वेस्ट इन्डिजविरूद्धको भारतको टी-२० टोलीमा विराट छैनन्। विराटसँगै जसप्रित बुमराह र युजवेन्द्र चहललाई वेस्ट इन्डिज भ्रमणको लागि आराम दिइएको छ।
टी-२० विश्वकप नजिकिँदै छ। भारतलाई विश्व टेस्ट च्याम्पियनसिपको फाइनलको दौडमा रहन अंक आवश्यक छ। यी प्रतियोगिताका लागि भारतीय टिममा विराटको स्थानबारे पछिल्लो समय प्रश्न उठिरहेका छन्।
बाबरले ट्विटरमा कोहलीसँगको आफ्नो तस्बिर सेयर गर्दै लेखेका छन्, ‘यो कठिन समय पनि बित्नेछ, बलियो रहनुहोस् ।’ इङ्ल्यान्ड भ्रमणमा कोहलीले लगातार खराब प्रदर्शन गरे । त्यसपछि कपिल देवदेखि सैयद किरमानीसम्मका धेरै भारतीय पूर्वक्रिकेटरले कोहलीलाई टोलीबाट हटाउन माग गरेका छन् ।
अष्ट्रेलिया र वेस्ट इन्डिज विरुद्धको हालैको शृङ्खलामा अन्तर्राष्ट्रिय शतक र गत महिना लाहोरमा अस्ट्रेलिया विरुद्धको टी-२० मा अर्धशतक बनाएका आजम ब्याटिङ वरीयताको एकदिवसीय र टी-२० दुवैको शीर्ष स्थनमा छन्। यस्तै उनी टेस्ट वरीयतामा चौथो स्थानमा छन्। आजमले अहिलेको खराब लय सकिने संकेत गर्दै कोहलीलाई बलियो हुन सुझाव दिएका छन्।
https://twitter.com/babarazam258/status/1547657073587933190?s=20&t=06KTAGZ0i4XbzQpYBBp_yw
कप्तान रोहित शर्माले पनि कोहलीलाई साथ दिँदै उनलाई एक दुई ठूलो इनिङको आवश्यक रहेको बताए । ‘सबै खेलाडीको प्रदर्शन तलमाथि हुन्छ । मैले अहिले सम्म लगातार राम्रो प्रदर्शन गरेको कुनैपनि खेलाडीलाई देखेको छैन । कोहली यति बर्षदेखि लगातार रन बनाउँदै टोलीलाई जिताएका छन् । उनलाई लयमा फर्किन एक वा दुई इनिङको आवश्यक पर्छ’, रोहितले दोस्रो ओडिआई खेलपछि पुन आफ्नो प्रतिक्रिया दोहोर्याए ।
‘चर्चा भइरहन्छ । हामीलाई थाहा हुन्छ । लय तलमाथि सबैको हुन्छ । मैले पछिल्लो पटक भनेकै थिए । लय खराब भएपनि खेलाडीको गुण कहिल्यै खराब हुँदैन । हामीले त्यो कुरा सधैं ध्यान राख्नुपर्छ । कोहलीले कति धेरै रन बनाएका छन् । धेरै शतक बनाएका छन । उनको रन औसत हेर्नुहोस् । अनुभव छ । अहिले सम्म त्यस्तो खेलाडी आएको छैन जसले खराब प्रदर्शन गरेको छैन’, रोहितले भने ।