काठमाडौं ।
आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज शनिबार तेस्रो खेल खेल्दैछ ।नेपालले सिरिजको तेस्रो खेलमा नामिबियाको सामना गर्नेछ । नेपाल र नामिबियाविरूद्ध टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ। नेपालले आज बलिङमा राम्रो सुरुवात गरेको छ।
नेपाललाई पहिलो सफलता दिलाउने क्रममा सोमपाल कामीले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिए । सोमपालले नामिबियाका ओपनर लोहान्ड्रे लरेन्सलाई २ रनमा बोल्ड गरे । यो सँगै उनले एकदिवसीयमा ३५ विकेट पूरा गरेका छन् । सोमपाल नेपालका लागि एकदिवसीयमा ३५ विकेट पूरा गर्ने तेस्रो बलर हुन् ।
यस्तै नेपालका कप्तान सन्दीप लामिछानेले पनि आफ्नो पहिलो ओभरको पहिलो बलमा नै महत्वपूर्ण विकेट लिएका छन्। यो सँगै नेपाललाई दोस्रो सफलता कप्तान सन्दीप लामिछानेले दिलाए । यो सँगै सन्दीपले एकदिवसीय क्रिकेटमा इतिहास रचेका छन् । उनले यो प्रारूपमा ६५ विकेट लिने पहिलो बलर बनेका हुन् । सन्दीपले यो उपलब्धि २९ म्याचमा हासिल गरे ।
यो खबर तयार पार्दासम्म नामिबियाले ६.१ ओभरमा २ विकेट गुमाएर २८ रन बनाएको छ। नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, नामिबियालाई हराउँन नेपाललाई सहज भने हुनेछैन । किनकि सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।
नामिबियाविरुद्ध नेपाल पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । नामिबिया भने नेपाललाई लगातार दोस्रो भेटमा हराउन चाहन्छ ।सिरिजको दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । यता, नामिबिया भने स्कटल्याण्डविरुद्ध दुई खेलमा पराजित भएको छ ।
नेपाल लिग टू को अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । नेपालले १८ खेलमा १७ अंक जोडेको छ । नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।सिरिज अन्तर्गत नै अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध आइतबार खेल्नेछ ।
नेपालको प्लेईङ-११ : आसिफ शेख (विकेट किपर),कुशल भुर्तेल,देव खनाल, दीपेन्द्र सिंह ऐरी,रोहित पौडेल,आरिफ शेख,आदिल आलम,पवन,सोमपाल कामी,बसिर अहमद र सन्दीप लामिछाने(कप्तान)
















