काठमाडौं।
नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले इतिहास रचेका छन्। जारी आईसीसी विश्वकप लिग–२ मा नेपालका लागि सर्वाधिक विकेट लिने बलर बन्दै सन्दीपले इतिहास रचेका हुन्। उनले १९ म्याचमा ४१ विकेट लिइसकेका छन्।
स्कटल्याण्डमा जारी विश्वकप लिग–२ को त्रिकोणात्मक वानडे सिरिजअन्तर्गत नामिबियाविरुद्ध ४ विकेट लिएसँगै सन्दीपले विकेट संख्या ४१ पुगाएका हुन्।
नेपालका लागि लिग–२ मा सर्वाधिक विकेट लिने कीर्तिमान संयुक्तरूपमा सन्दीप र करण केसीको नाममा थियो। दुवैले ३७–३७ विकेट लिएका थिए। अब भने सन्दीपले करणलाई पछि पारेका छन्। नामिबियासँगको खेलमा आज करणले मौका पाएका छैनन्।
स्कटल्याण्डको आयरमा जारी खेलमा नेपालले नामिबियाविरुद्ध उत्कृष्ट बलिङ गरिरहेको छ। नेपालले उत्कृष्ट बलिङ गर्दा नामिबियाले महत्वपूर्ण ६ विकेट गुमाएको छ।
कप्तान सन्दीप लामिछानेले ४ तथा सोमपाल कामीले २ विकेट लिएका छन्। नामिबियाले ३६ ओभरको खेल सकिँदा ६ विकेट गुमाएर १ सय ४१ रन जोडेको छ।
नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, नामिबियालाई हराउँन नेपाललाई सहज भने हुनेछैन । किनकि सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।
नामिबियाविरुद्ध नेपाल पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । नामिबिया भने नेपाललाई लगातार दोस्रो भेटमा हराउन चाहन्छ । सिरिजको दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।
यता नामिबिया भने स्कटल्याण्डविरुद्ध दुई खेलमा पराजित भएको छ । नेपाल लिग टू को अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । नेपालले १८ खेलमा १७ अंक जोडेको छ । नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
सिरिजअन्तर्गत नै अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध आइतबार खेल्नेछ । आज नामिबियाविरुद्ध नेपालले एक खेलाडी परिवर्तन गरेको छ। करण केसी टिम बाहिर रहँदा पवन सर्राफ प्लेइङ–११ मा अटाएका छन्।