काठमाडौं ।
आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज आइतबार अन्तिम खेल खेल्दैछ । सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डको सामना गर्नेछ । स्कटल्याण्ड र नेपालबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
घरेलु टोलीविरुद्ध नेपाल जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । यस्तै नेपाल स्कटल्याण्डविरुद्ध लगातार दोस्रो भेटमा जित निकाल्न चाहन्छ । यस अघिको भेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।
यता, स्कटल्याण्ड भने नेपालविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । स्कटल्याण्ड नेपाललाई हराएर सिरिजको सुखद अन्त्य समेत गर्न चाहन्छ । सिरिज अन्तर्गत नै नेपालले नामिबियासँग भने दुबै खेलमा हार व्यहोरेको छ । पहिलो खेलमा नेपाल नामिबियासँग ४० र सिरिजको तेस्रो खेलमा ६३ रनले पराजित भएको थियो ।
नेपालसँग पराजित स्कटल्याण्डले भने नामिबियालाई दुबै खेलमा हराएको छ । नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा रहेको छ । नेपालले १९ खेलमा १७ अंक जोडेको छ । स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ । स्कटल्याण्डले २३ खेलमा ३२ अंक जोडेको छ ।
नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), देव खनाल, रोहितकुमार पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, मोहम्मद आदिल आलम, सोमपाल कामी, पवन सर्राफ/करण केसी, सन्दीप लामिछाने (कप्तान) र बसिर अहमद ।