काठमाडौं ।
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डसँग नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । टिटवुड ग्लासगोमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले पवन सरार्फको स्थानमा करण केसीलाई टोलीमा फर्काएको छ । करणलाई नेपालले नामिबियाविरुद्ध विश्राम दिएको थियो । बसिर अहमदलाई नेपालले बेन्चमा राख्दै किशोर महतोलाई डेब्यू दिएको छ । आदिल अन्सारीको स्थानमा विनोद भण्डारीले मौका पाएका छन् ।
किशोरले लामो समयको प्रतिक्षापछि डेब्यू गरेका हुन् । किशोरले गत मे मा जिम्बावे ए विरुद्ध अभ्यास खेलमा ५ विकेट लिएका थिए । त्यो अभ्यास खेल हुँदा आधिकारीक रुपमा ओडिआई मार्फत डेब्यू गरेका छन् ।किशोर तीव्र गतिसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् ।
सिरिजको दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । नेपाल स्कटल्याण्डविरुद्ध लगातार दोस्रो जित निकाल्न चाहन्छ । सिरिजको दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई १४४ रनमै अलआउट गरेको थियो । सो खेलमा स्कटल्याण्डले दिएको १४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा पूरा ग¥यो । नेपाल आइतबार पनि सोही लय कायमै राख्ने लक्ष्यमा हुनेछ ।
स्कटल्याण्ड नेपालविरुद्ध बदला लिन चाहन्छ । घरेलु मैदानको फाइदा उठाउँदै खेलमा कमब्याक गर्ने लक्ष्यमा रहेको नामिबियाले अघिल्लो खेलमा नामिबियालाई ३ विकेटले हराएको थियो । नेपाल भने नामिबियाविरुद्ध लगातार दुई खेलमा हार बेहोरेको छ । पहिलो खेलमा नामिबियाविरुद्ध नेपाल ४० रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ६३ रनले पराजित हुन पुग्यो ।
लिग–२ मा स्कटल्याण्डले २३ म्याच खेल्दा १५ मा जित र ६ खेलमा हार बेहोरेको छ । उसले दुई खेलमा अंक बाँडेको छ । ३२ अंक जोडेको स्कटल्याण्ड तालिकाको दोस्रो स्थानमा छ । नेपालले १९ म्याचमा आठमा जित र १० खेलमा हारको सामाना गरेको छ । एक खेल भने नेपालले बराबरी खेलेको छ ।
१७ अंकका सात नेपाल तालिकाको छैटौँ स्थानमा छ । पाँचौं स्थानमा रहेको नामिबियाले १८ म्याचमा नौमा जित र नौ खेलमा हारको सामना गरेको छ । लिग–२ मा सात टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष तीनमा रहने टोली सिधै आउँदो वर्षको विश्वकप छनोट खेल्न पाउने छन् ।
नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, रोहितकुमार पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकपिर), सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र किशोर महतो ।