काठमाडौं ।
आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई १ सय २९ रनको लक्ष्य दिएको छ। ग्लासगोस्थित टिटवुडमा टस हारेर पहिले ब्याटिङको मौका पाएको नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाएर १ सय २८ रन बनायो।
नेपालका लागि आसिफ शेखले ४०, कप्तान सन्दीप लामिछानेले २२ विनोद भण्डारी १३, रोहितकुमार पौडेल र देव खनाल समान १०–१० रन बनाए। यस्तै, दीपेन्द्रसिंह ऐरी करण केसी र सोमपाल कामी समान ७–७, कुशल भुर्तेल ३, आरिफ शेख शून्यमा आउट हुँदा किशोर महतो शून्य रनमा अविजित रहे।
स्कटल्याण्डका लागि हमजा ताहिरले ४, मार्क वाटले ३ तथा गेभिन मेनले २ र क्रिस्टोफर म्याकब्राइडले १ विकेट लिए। घरेलु टोलीविरुद्ध नेपाल जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । यस्तै नेपाल स्कटल्याण्डविरुद्ध लगातार दोस्रो भेटमा जित निकाल्न चाहन्छ । यसअघिको भेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।
यता, स्कटल्याण्ड भने नेपालविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । स्कटल्याण्ड नेपाललाई हराएर सिरिजको सुखद अन्त्य समेत गर्न चाहन्छ । सिरिज अन्तर्गत नै नेपालले नामिबियासँग भने दुबै खेलमा हार व्यहोरेको छ ।
पहिलो खेलमा नेपाल नामिबियासँग ४० र सिरिजको तेस्रो खेलमा ६३ रनले पराजित भएको थियो । नेपालसँग पराजित स्कटल्याण्डले भने नामिबियालाई दुबै खेलमा हराएको छ ।
नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा रहेको छ । नेपालले १९ खेलमा १७ अंक जोडेको छ । स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ । स्कटल्याण्डले २३ खेलमा ३२ अंक जोडेको छ ।
नेपालले आज ३ खेलाडी परिवर्तन गरेको छ। नेपालले पवन सर्राफ, बसिर अहमद र आदिल आलमको ठाउँमा करण केसी, विनोद भण्डारी र किशोर महतोलाई खेलाएको छ। किशोरको यो डेब्यू म्याच हो।
नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, रोहितकुमार पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकपिर), सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र किशोर महतो।