काठमाडौं ।
आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले पराजित भएको छ ।स्कटल्याण्डको ताइतवड क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ८ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय २९ रनको लक्ष्य स्कटल्याण्डले १९ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ५ बलमा अलआउट हुँदै १ सय २८ रन बनाएको थियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए । विनोद भण्डारीले १३ रन जोड्दा देव खनाल र रोहित पौडेलले समान १०/१० रन बनाए ।
ओपनर कुशल भुर्तेल ३ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करण केसीले समान ७ रन बनाए । आरिफ शेख सुन्य रन आउट भए । सन्दीप लामिछाने २२ रनमा आउट हुँदा किशोर महतो सुन्य रनमा अविजित रहे । स्कटल्याण्डका हाम्जा ताहिरले ४ तथा मार्क वाटले ३ विकेट लिए । गाभिन मेनले २ विकेट लिए ।
अंक तालिका : ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २४ खेलमा १६ मा जित र ६ मा हारका साथ ३४ अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नामिबिया १८ खेलमा ९ मा जित र ९ मा हार सहित १८ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल २० खेलमा ८ मा जित र ११ मा हारका साथ १७ अंक जोड्दै छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।
स्कटल्याण्डविरुद्ध नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहितकुमार पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी,सोमपाल कामी, आरिफ शेख, बिनोद भण्डारी, करण केसी,देव खनाल, सन्दीप लामिछाने (कप्तान) र किशोर महतो ।