काठमाडौं ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकर सावित्रा भण्डारीले फेरि गोकुलम केरेला एफसीबाट भारतीय महिला लिग खेल्ने भएकी छिन् ।गोकुलमले आइतबार सामाजिक संजाल फेसबुकबाट सावित्रालाई नयाँ सिजनका लागि अनुबन्ध गरिएको जनाएको छ ।
सावित्राले पनि दोस्रो पटक क्लबमा सम्झौता गर्दा सुखी लागेको बताएकी थिइन् । ‘गोकुलमले गत सिजन पनि खेल्नुपर्छ भनेको थियो,’ उनले भनिन्, ‘तर चोटका कारण सम्भव भएन । फेरि एकपटक क्लबले मलाई विश्वास गरेको छ । म आफ्नोतर्फबाट पहिलाकै जस्तो प्रदर्शनको पूरा प्रयास गर्नेछु ।’
सावित्राले यस अघि चौंथो संस्करणको लिग गोकुलमबाट खेलेकी थिइन् । उनीसँगै अनिता बस्नेतले समेत गोकुलमबाट खेलेकी थिइन् । चौंथो संस्करणको लिगमा सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन् । सावित्राले त्यस सिजन १६ गोल गरेकी थिइन् ।
प्ले अफमा पनि उनले ३ गोल गरेकी थिइन् ।सन् २०१९ मा पहिलो पटक सावित्राले सेथु एफसीबाट खेल्दा पनि टोलीलाई च्याम्पियन बनाएकी थिइन् । त्यति बेला उनले टोलीका लागि १४ गोल गरेकी थिइन् । उक्त सिजन गोकुलमले उपाधि जितेको थियो ।
गत वर्ष भने चोटका कारण लामो समय सावित्रा मैदान बाहिर रहेकी थिइन् । २०७७ फागुनमा घुँडामा चोट लागेपछि सावित्रा लामो समय मैदान बाहिर रहिन् । कतार पुगेर उपचार गरेर असोजमा स्वदेश फर्केयता उनी पुनः मैदानमा सक्रिय भएकी छिन् । उनी सम्मिलित एपिएफ महिला लिगको पहिलो चरणमा शीर्षस्थानमा रहेको छ । गोकुलम अघि सावित्राले सेथु फुटबल क्लबबाट खेलेका थिए ।