काठमाडौं ।
एएफसी एसियन कप-२०२३ आयोजना गर्नका लागि ४ राष्ट्रले दाबी पेश गरेका छन् । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले सोमबार एसियन कप आयोजनाका लागि ४ राष्ट्रको दाबी परेको जनाएको छ ।
एसियन कप आयोजनाका लागि अष्ट्रेलिया, कतार, इन्डोनेसिया र दक्षिण कोरियाले दाबी पेश गरेको एएफसीले जनाएको छ । चीनले आयोजकबाट नाम फिर्ता लिएपछि एएफसीले नयाँ आयोजक राष्ट्रको लागि बोलपत्र आह्वान गरेको थियो ।
कोभिड-१९ को महामारीको कारण देखाएर चाईनिज फुटबल एसोसियनले आयोजकबाट नाम फिर्ता लिएको थियो । एएफसीले दाबी पेश गर्ने ४ राष्ट्रको मुल्यांकन गरेर आयोजक राष्ट्रको घोषणा गरिने जनाएको छ । एसियन कपमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।
साफ यू–२० लागि नेपालको अन्तिम टोली घोषणा, यी खेलाडीले पाए मौका
भारतमा हुने साफ यू–२० च्याम्पियनसिपका लागि नेपाली यू–२० राष्ट्रिय टोलीको अन्तिम घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा गरेका हुन् । साफ यू–२० च्याम्पियनसिप भारतमा जुलाई २५ देखि अगस्ट ३ सम्म हुँदैछ ।
नेपालले साफ यू–२० च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र त्यसपछि ३१ मा भारतसँग खेल्नेछ । नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ ।
त्यसपछि नेपालले एएफसी यू–२० एसिया कप छनोटमा कतार, बहराइन, बंगलादेश र भुटानसँगै राष्ट्रिय यू–२० सँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानसँग र दोस्रो खेल सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ भने तेस्रो खेल सेप्टेम्बर १४ मा बहराइनसँग र चौथो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ ।
अन्तिम टोली : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख (गोलकिपर), अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा (डिफेन्डर ), दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान (मिडफिल्डर), दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी (फरवार्ड) ।