काठमाडौं ।
नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप एक हप्ता पछि सरेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सहभागी टोलीलाई पत्र लेख्दै महिला साफ एक हप्ता पछि सरेको जानकारी गराएको छ ।
भारतको गोकुलम केरेला एफसीले एएफसी वुमन्स क्लब प्रतियोगिता खेल्ने तालिका परेको कारण प्रतियोगिता सारिएको साफले जनाएको छ । अब महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । यस अघि साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुने तालिका थियो ।
बंगलादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको थियो । प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगालदेश, माल्दिभ्स, श्रीलंका र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।
यी हुन् नेपाल टी–२० लिग खेल्ने चार टिम
नेपाल टी-२० लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने तय भएपनि सोमबार कार्यक्रममा चार टिमको नाम मात्र घोषणा भएको हो । जसमा कान्तिपुर क्यापिटल्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र लुम्बिनी अल स्टार्स छन् । कान्तिपुर क्यापिटल्सको फ्रेञ्चाइज मालिक कान्तिपुर मिडिया ग्रुप छ भने नेपाली अल स्टार्स अमेरिकाले लुम्बिनी अल स्टार्स टिम खरिद गरेको छ ।
बाँकी दुई टिममा भारतीय व्यवस्थापन रहने छ । विराटनगर सुपर किंग्सलाई डायमण्ड डिजीक्याप प्रालिले र जनकपुर रोयल्सलाई गोल्डस्पोर्टस प्रालिले सञ्चालन गर्ने छन् । बाँकी दुई टिमको घोषणा छिट्टै हुने क्यानका कार्यबाहक सचिव प्रशान्त मल्लले बताए । टिम मालिक उपस्थित नभएका कारण दुई टिमको घोषणा प्रक्रिया लम्बिएको हो ।
क्यानले गत जेठमा लिग खेल्ने ६ शहरको नाम सार्वजनिक गरेको थियो । जसमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी/भैरहवा र सुदूरपश्चिम थियो । ती टिमको स्वामित्व लिनका लागि क्यानले टेण्डर आह्वान गरेको थियो । त्यसै अनुसार फ्रेन्चाइज टिम नाम टुङ्गो लागेको हो ।
क्यानले नेपाल टी २० लाई नै नेपालको आधिकारिक फ्रेन्चाइज लिग भनेको छ । जसलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पनि स्वीकृति दिइसकेको छ । कार्यवाहक सचिव मल्लले नेपाल टी–२० लिगको फ्रेन्चाइज टिममा विदेशी व्यवस्थापन हुनु सर्वव्यापी अभ्यास रहेको बताए ।
यो प्रतियोगितामा नेपाल भित्रबाटै फ्रेन्चाइज टोली नपाएर विदेशी ल्याइएको अर्थ नलगाउन पनि उनले आग्रह गरे । ‘संसारको हरेक फ्रेन्चाइजमा विदेशी मालिक हुने व्यवस्था सामान्य हो । जसले उचित प्रस्ताव ल्याउँछ र जसलाई हामीले विश्वास गछौं त्यही टिमले मान्यता पाउने हो,’ टिम घोषणा कार्यक्रममा मल्लले भने, ‘क्रिकेटको विकासका लागि नेपालको मात्र लगानी हुनुपर्छ भन्ने मान्यता छैन । यसलाई आईसीसीले पनि रोक्दैन ।’
क्यानले नेपाल टी-२० लिगलाई आफ्नो ड्रिम भेन्चर मानेको छ । यसले नेपाली क्रिकेटलाई नै परिवर्तन गर्ने क्यानको दावी छ । क्यानले गत जेठमा नेपाल टि-२० लिगको आधिकारिक घोषणा गरेको थियो । जसअनुसार पहिलो संस्करण आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।
तोकिएकै समयमा लिग गर्ने क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताए। लिग आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई स्ट्राटेजिक एण्ड कमर्सियल पार्टनरको अधिकार दिएपछि नेपाल टी-२० लिग यसअघि नै आलोचित बनेको थियो । नेपाल टी-२० लिगमा खेल्ने क्याटेगोरी एका खेलाडीको प्रारम्भिक मूल्य नै १५ लाख हुने भएकोले खेलाडीहरु भने उत्साहित छन् ।