क्यानडामा नरेशले बनाए दोहोरो शतक, गरे छक्काको वर्षा

Image

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य नरेश बुढाऐरले क्यानडाको एक स्थानिय क्रिकेट प्रतियोगितामा दोहोरो शतक प्रहार गरेका छन् । नरेशले मिसिसाउगा क्रिकेट लिगमा दोहोरो शतक प्रहार गरेका हुन् । नर्थ योर्कको फेलिंटोन पार्कका मैदानमा नाईट क्रिकेट क्लबविरुद्ध उनले दोहोरो शतक बनाएका हुन् ।

नरेशले नेपालीहरुको क्लब नेप्लिज क्यानेडियन क्रिकेट क्लबबाट खेलेका थिए । नरेश क्यानडामा बस्दै आएका छन् । नरेशले अविजित रहदै ६५ बलमा २ सय १० रन बनाए । जसमा १६ छक्का र २३ चौका समावेश रहेका थिए । नरेश नेपालले २०१४ को टी-ट्वान्टी विश्वकप खेल्दा टोलीका सदस्य हुन् । नेपालका लागि नरेशले ४ टी-ट्वान्टी अन्तराष्ट्रिय र ६ लिस्ट ए खेल खेलेका छन् ।

नरेशले २०१४ को विश्वकपमा हङकङविरुद्ध टी-ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गरेका थिए । नरेशले २०१६ मा नामिबियाविरुद्धको खेलमा अन्तिम पटक नेपालको प्रतिनिधित्व गरेका थिए । नेपालको घरेलु क्रिकेटमा उनले त्रिभुवन आर्मीका लागि खेल्ने गरेका थिए ।

स्कटल्यान्डबाट नेपाली टिम स्वदेश फर्किएपछि यस्तो भन्छन् प्रशिक्षक पुबुदु

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्ड र नामिबियाविरुद्धको त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेर नेपाली टिम मंगलबार स्वदेश फर्किएको छ। सिरिजमा नेपालले खेलेका चार खेल मध्ये तीन खेलमा पराजय भोगेको थियो। जसका कारण लिग-२ को अंक तालिकामा छैठौं स्थानमा झरेको नेपालको एकदिवसीय मान्यता पनि खतरामा परेको छ।

किनभने लिग-२ को शीर्ष पाँचमा नपरे एकदिवसीय मान्यताका लागि नेपालले प्लेअफ खेल्नु पर्नेछ। नेपालका प्रशिक्षक पुबुदु दसानायके भने नेपालको एकदिवसीय मान्यता नगुम्ने बताउँछन्। ‘नेपालले एकदिवसीय मान्यता गुमाउँदैन। हामी अझै शीर्ष पाँचमा हुन सक्ने अवस्था छ। तर शीर्ष तीनमा पर्न भने अलि गाह्रो हुन्छ,’ त्रिभुवन विमानस्थलमा उनले भने, ‘हामीले अझै घरेलु मैदानमा दुई सिरिज खेल्न बाँकी छ। अरु टिमका पनि खेल बाँकी छ। त्यसैले हामी शीर्ष पाँचमा पर्न सक्छौ।’

नेपालले खराब प्रदर्शन गरेपछि कतिपयले पुबुदुको राजीनामा समेत मागेका छन्। पुबुदुले यो विषयमा कुरा गर्न हतार हुने बताए। ‘यसको बारेका कुरा गर्न हतार हुन्छ भन्ने लागेको छ। नेपाली क्रिकेटलाई माया गर्ने भएका कारण आएको हुँ, जागिर खान होइन। मैले सकेको जति दिएको छु,’ उनले भने। उनले स्कटल्यान्डको ‘कन्डिसन’ चुनौतीपूर्ण रहेको बताए।

‘टिमले कडा मिहिनेत गरेको छ। कन्डिसन धेरै चुनौतीपूर्ण थियो। तर पनि हामीले नामिबियाविरूद्धका खेल जित्न सक्ने अवस्था थियो। समग्रमा हाम्रा लागि सकारात्मक नै रह्यो,’ उनले भने, ‘अहिलेको टिममा ब्याटिङ राम्रो गर्न सक्ने खेलाडी छन्। तर, अहिले प्रदर्शन गर्न सकेका छैनन्।’ स्कटल्यान्ड भ्रमणमा खराब ब्याटिङकै कारण नेपाल लिग-२ को अंक तालिकामा छैटौं स्थानमा झरेको छ। नेपालले २० खेलबाट १७ अंक मात्र जोड्न सकेको छ। नेपालभन्दा तल रहेको सातौं स्थानको पपुवा न्युगिनीको २ अंक छ। एकदिवसीय मान्यता जोगाउनका लागि शीर्ष पाँच भित्र पर्न अब नेपालले बाँकी रहेका १६ खेलमा राम्रो नजिता निकाल्न आवश्यक छ।

नेपालले अब नामिबिया र स्कटल्यान्डविरूद्ध दुई सिरिज खेल्न बाँकी छ। एक सिरिज नेपालमा हुनेछ भने अर्को सिरिज नामिबियामा छ। यस्तै नेपालले युएई र पपुवा न्युगिनीसँग पनि दुई सिरिज खेल्न बाँकी छ। एक सिरिज नेपालमा हुनेछ भने एक सिजन पपुवा न्युगिनीमा हुनेछ। यी सिरिजमा राम्रो नतिजा निकाल्न सके नेपालले १८ अंक जोडेर पाँचौ स्थानमा रहेको नामिबिया, २३ अंक जोडेर चौथो स्थानमा रहेको अमेरिका र २६ अंक जोडेर तेस्रो स्थानमा रहेको युएईलाई पछि पार्न सक्छ। लिग-२ मा ओमान ४४ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको स्कटल्यान्डको ३४ अंक छ।