मेस्सीको गोलमा जापानी क्लबविरुद्ध पिएसजीको रोमाञ्चक जित

Image

काठमाडौं ।

प्रि–सिजनको मैत्रीपूर्ण खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित हात पारेको छ । पिएसजीले जापानी क्लब कावासाकी फ्रन्टटालेमाथि २–१ को जित निकालेको हो । पिएसजीको जितमा अर्जेन्टिनी स्टार फरवार्ड लिओनल मेस्सी र अर्नाेउ कालीमुइन्डो मुइंगाले एक/एक गोल गरे ।

घरेलु टोलीका काजुया यामामुराले एक गोल फर्काए । जापान नेसनल स्टेडियम टोकियो जापानमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलको ३३ औं मिनेटमा मेस्सीको गोलबाट पिएसजीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो ।

५८ औं मिनेटमा फ्रान्सका २० वर्षीय फरवार्ड अर्नाेउ मुइंगाले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे। त्यसपछि ८४औं मिनेटमा काजुया यामामुराले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । थप गोल निस्कन नसक्दा पिएसजी विजयी हुन सफल भयो ।

प्रि–सिजनमा पिएसजीको यो लगातार दोस्रो जित हो । यसअघि पिएसजीले फ्रान्सेली क्लब क्वीभिलीमाथि २–० को जित निकालेको थियो ।जापानी क्लब कावासाकी फ्रन्टटालेविरुद्ध प्रशिक्षक क्रिस्टोफे गाल्टिएरले पहिलो रोजाईमा अग्रपङ्तिमा मेस्सीसँगै केलियन एमबाप्पे र नेयमारलाई मैदानमा उतारेको थियो ।