काठमाडौं ।
प्रतिस्पर्धात्मक बनेको खेलको अतिरिक्त समयमा स्पेनलाई २-१ अन्तरले पराजित गर्दै घरेलु टोली इङ्ग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पुनरागमन गर्दै इङ्ग्ल्यान्ड खेलमा फर्कन सफल भयो ।
निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ८४औं मिनेटमा एला टोनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । उनले एलसिया रुस्सोको पासमा गोल गर्न सफल भएकी थिइन् । त्यसपछि निर्धारित समयमा गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो ।
अतिरिक्त समयको छैटौं मिनेट अर्थात ९६औं मिनेटमा जर्जिया स्टानवेले गोल गर्दै इंग्ल्यान्डलाई खेलमा २–१ को अग्रता दिलाइन् ।इङ्ग्ल्यान्डको जितमा एला टोन र जर्जिया स्टानवेले गोल गरिन् । स्पेनकी एस्थर गोन्जालेजको नाममा सान्त्वना गोल रह्यो । अब, सेमिफाइनल प्रवेशका लागि इङ्ग्ल्यान्डले स्विडेन र बेल्जियमबीचको विजेतासँग खेल्नेछ ।
मेस्सीको गोलमा जापानी क्लबविरुद्ध पिएसजीको रोमाञ्चक जित
प्रि–सिजनको मैत्रीपूर्ण खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित हात पारेको छ । पिएसजीले जापानी क्लब कावासाकी फ्रन्टटालेमाथि २–१ को जित निकालेको हो । पिएसजीको जितमा अर्जेन्टिनी स्टार फरवार्ड लिओनल मेस्सी र अर्नाेउ कालीमुइन्डो मुइंगाले एक/एक गोल गरे ।
घरेलु टोलीका काजुया यामामुराले एक गोल फर्काए । जापान नेसनल स्टेडियम टोकियो जापानमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलको ३३ औं मिनेटमा मेस्सीको गोलबाट पिएसजीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो ।
५८ औं मिनेटमा फ्रान्सका २० वर्षीय फरवार्ड अर्नाेउ मुइंगाले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे। त्यसपछि ८४औं मिनेटमा काजुया यामामुराले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । थप गोल निस्कन नसक्दा पिएसजी विजयी हुन सफल भयो ।
प्रि–सिजनमा पिएसजीको यो लगातार दोस्रो जित हो । यसअघि पिएसजीले फ्रान्सेली क्लब क्वीभिलीमाथि २–० को जित निकालेको थियो ।जापानी क्लब कावासाकी फ्रन्टटालेविरुद्ध प्रशिक्षक क्रिस्टोफे गाल्टिएरले पहिलो रोजाईमा अग्रपङ्तिमा मेस्सीसँगै केलियन एमबाप्पे र नेयमारलाई मैदानमा उतारेको थियो ।