काठमाडौं ।
भारतमा आयोजना हुने साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार यू-२० टोलीलाई बिदाइ गरेको हो । राखेप सदस्य सचिव टंकलाल घिसिङ, एन्फाका अध्यक्ष पंकज नेम्वाङ लगायत एन्फाका पदाधिकारीले टोलीलाई बिदाइ गरे ।
नेपाली टोली शुक्रबार दिउँसो भारत प्रस्थान गर्ने छन् । च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । च्याम्पियनसिपका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले २३ सदस्यीय टिम घोषणा गरिसकेका छन्।प्रतियोगितामा नेपालको कप्तानी अनुभवी मिडफिल्डर आयुष घलानले गर्ने छन् ।
च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ । त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।
नेपाली टोली : (गोलकिपर) ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख। (डिफेन्ड) अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा । (मिडफिल्डर) दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान (कप्तान) । (फरवार्ड) रोहित सुब्बा, निरञ्जन मल्ल र रोहन खड्गी ।