काठमाडौं।
नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा पूर्वकप्तान किरण चेम्जोङसम्मिलित माजिया स्पोर्ट्स एण्ड रिक्रिएसनले धिवेही प्रिमियर लिगको २०२१/२२ को लिग उपाधि जितेको छ । शुक्रबार साँझ भएको खेलमा माजियाले दा ग्रान्डेलाई १–० ले पराजित गर्दै लिग तालिकामा थप तीन अंक जोडेको हो ।
यो जितसँगै माजियाले दुई खेल बाँकी रहँदै लिगको उपाधि जितेको छ । लिग जिते वापत मजिया स्पोर्ट्स एन्ड रिक्रिएसनले १ करोड ३३ लाख नेपाली रुपैया पुरस्कार पाएको छ । माजियाका लागि पहिलो हाफमा टाना डोमिङ्ग्वेजले गरेको गोल नै उपाधि जित्न पर्याप्त थियो ।माजियाको १९ खेलबाट ५४ अंक छ भने निकटतम प्रतिद्वन्द्वी ईगल्सको ४६ अंक छ । किरणले यसअघि टिसी स्पोर्ट्सबाट २०१८ मा पनि डीपीएलको उपाधि जितेका थिए ।
यो पनि : यू-२० राष्ट्रिय फुटबल टोलीको बिदाइ
भारतमा आयोजना हुने साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार यू-२० टोलीलाई बिदाइ गरेको हो ।राखेप सदस्य सचिव टंकलाल घिसिङ, एन्फाका अध्यक्ष पंकज नेम्वाङ लगायत एन्फाका पदाधिकारीले टोलीलाई बिदाइ गरे ।
नेपाली टोली शुक्रबार दिउँसो भारत प्रस्थान गर्ने छन् ।च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।च्याम्पियनसिपका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले २३ सदस्यीय टिम घोषणा गरिसकेका छन्।
प्रतियोगितामा नेपालको कप्तानी अनुभवी मिडफिल्डर आयुष घलानले गर्ने छन् ।च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ ।त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ ।शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।
नेपाली टोली : गोलकिपर – ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख । डिफेन्डर – अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा । मिडफिल्डर – दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान । फरवार्ड -रोहित सुब्बा, निरञ्जन मल्ल, रोहन खड्गी