काठमाडौं ।
घरेलु टोली आयरल्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजमा न्युजिल्याण्डले क्लिन स्विप गरेको छ । बेलफास्टस्थित सिभिल सर्भिस क्रिकेट क्लबको मैदानमा शुक्रबार राति भएको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको जित निकाल्दै न्युजिल्याण्डले सिरिज ३-० ले जितेको हो ।
आयरल्याण्डले दिएको १ सय ७५ रनको लक्ष्य पाहुना टोली न्युजिल्याण्डले ६ बल बाँकी रहदै ४ विकेट गुमाएर पूरा गर्यो । पाहुना टोलीका लागि ग्लेन फिलिप्सले अविजित रहदै ५६ रनको अर्धशतकीय इनिङ खेले । ड्रयाल मिचेलले ४८ रन तथा मार्टिन गप्टिलले २५ रन बनाए ।
जेम्स निशम २३ रनमा अविजित रहे । आयरल्याण्डका लागि जोस लिटिलले २ विकेट लिए । क्रेग योङ तथा जर्ज डोक्रेलले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । आयरल्याण्डका पाउल स्ट्रर्लिङले ४० रन बनाए । मार्क एडियरले अविजित ३७ तथा लोर्कान टुकरले २८ रन बनाए । न्युजिल्याण्डका ब्लेयर टिकनिर तथा ईस सोधीले समान २/२ विकेट लिए ।
दक्षिण अफ्रिकामाथि इंग्ल्यान्डको सानदार जित :
दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा घरेलु टोली इंग्ल्याण्ड ११८ रनले विजयी भएको छ । गएराति सम्पन्न खेलमा जित हात पारेसँगै इंग्ल्याण्डले तीन खेलको श्रृंखला १–१ को बराबरीमा ल्याएको छ । यो हारले दक्षिण अफ्रिकाले एक खेल अगावै सिरिज जित्ने मौका गुमायो । पहिलो खेलमा ऊ ६२ रनले विजयी भएको थियो ।
दोस्रो ओडिआई खेलमा जितको २ सय २ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २०.४ ओभरमा अलआउट हुँदै ८३ रनमा समेटियो। खेल वर्षाको कारण २९ ओभरमा झारिएको थियो। दक्षिण अफ्रिका हेनरिक क्लासेनले सर्वाधिक ३३ रन बनाए। यस्तै डेविड मिलर १२ र ड्वेन प्रिटोरियस १७ रनमा आउट हुँदा अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
क्विन्टन डि कक ५, जान्नेमान मलान, रास्सी भान डर डुसेन र एडेन माक्ररमले खाता खोल्न सकेनन्। इंग्ल्यान्डका स्पिनर आदिल राशिदले सर्वाधिक तीन विकेट लिए। रिस टोप्ली र मोईन अलीले दुई-दुई विकेट हात पारे। साम करन र डेविड विल्लीले १-१ विकेट लिए। त्यसअघि म्यानचेस्टरमा टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले २८.१ ओभरमा अलआउट हुँदै २ सय १ रन बनायो।
इंग्ल्यान्डका लियम लिभिङस्टोनले सर्वाधिक ३८ रन बनाए। यस्तै साम करनले ३५ रन जोड्दा जोनी बेयरस्टो २८ तथा डेविड विल्ली २१ रनमा आउट भए। ओपनर जेसन रोय १४, फिलिप साल्ट १७, जो रुट १, मोईन अली ६, जस बटलर १९ र आदिल राशिद १२ रनमा आउट भए।
दक्षिण अफ्रिकाका ड्वेन प्रिटोरियसले सर्वाधिक ४ विकेट लिए। तबरेज शाम्सी र एनरिच नोर्कियाले दुई दुई विकेट हात पारे। यसअघि पहिलो खेलमा दक्षिण अफ्रिका ६२ रनले विजयी भएको थियो। यो जितसँगै घरेलु टोली इंङ्ल्याण्डले खेल बराबरीमा ल्याएको छ। दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचको निर्णायक तथा तेस्रो खेल आइतबार हुनेछ ।
यो पनि : वेष्ट इन्डिजसँगको पहिलो एक दिवसीय क्रिकेटमा भारत तीन रनले विजयी