म्यानचेस्टर सिटीले बायर्नलाई हरायो, हालाण्ड बने जितको ‘हिरो’

Image

काठमाडौं ।

प्रि-सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखले जित निकालेको छ । प्रि–सिजन क्लब मैत्रीपूर्णअन्तर्गत आज बिहान सम्पन्न खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जित हात पारेको छ ।  उसले जर्मन क्लब बायर्न म्युनिखमाथि १–० को कठिन जित हात पारेको हो ।

अमेरिकाको लाम्बेउ फिल्डमा खेलको १२ औं मिनेटमा इर्लिङ हालाण्डले गरेको एक मात्र गोल सिटीलाई जित दिलाउन पर्याप्त बन्यो । अमेरिकामा आइतबार बिहान भएको खेल हालान्डको गोल लगत्तै भारी वर्षाका कारण झन्डै ४० मिनेट स्थगित भएको थियो ।

त्यसपछि रोकिएकै स्थितिबाट खेल सुचारु हुँदा खेललाई छोट्याइएको थियो । त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो । उनले ज्याक ग्रेलिसको पासलाई सदुपयोग गरेका थिए ।

प्रि–सिजन अभ्यासका लागि अमेरिका भ्रमण गरेको सिटीको यो लगातार दोस्रो जित हो । यसअघि उसले क्लब अमेरिकालाई २–१ ले हराएको थियो । बायर्नको यो पहिलो हार हो ।  यसअघि बायर्नले पहिलो खेलमा डिसी युनाइटेडलाई ६–२ ले पराजित गरेको थियो ।

फ्रान्स पहिलो पटक महिला युरोकपको सेमिफाइनलमा :

साविक विजेता नेदरल्यान्ड्सलाई हराउँदै फ्रान्स पहिलोपटक महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा गोलरहित बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा नेदरल्यान्ड्सलाई १–० ले स्तब्ध पार्दै फ्रान्स पहिलोपटक महिला युरोको अन्तिम चारमा प्रवेश गरेको हो।

एससिल न्यूयोर्क स्टेडियम इंग्ल्यान्डमा शनिबार राति फ्रान्सलाई जिताउन इभ पेरिसेटले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो। १०२ औं मिनेटमा जान्सेनले पेनाल्टी बक्समा काडिडियाटोउ डिएनीलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायतामा फ्रान्सलाई पेनाल्टी दिएका थिए।

अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो। खेलमा बल पोजिसन राखे पनि फ्रान्सले केही गोल गर्ने राम्रा मौका गुमाउँदा अतिरिक्त समयमा धकेलिनु परेको थियो।

यस्तै डिफेन्डिङ च्याम्पियन नेदरल्याण्डका केही राम्रा प्रहारलाई फ्रान्सकी गोल रक्षकले विफल बनाएपछि क्यार्टरफाइनलमै रोकिनुपर्‍यो। यो सँगै महिला युरो च्याम्पियनसिप २०२२ को सेमिफाइनल समिकरण पूरा भएको छ।

पहिलो सेमिफाइनलमा इंग्ल्यान्ड र स्वीडेनबीच मंगलबार राति प्रतिस्पर्धा हुनेछ। यस्तै फ्रान्सले फाइनल प्रवेशका लागि बुधबार जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल आइतबार हुनेछ।