काठमाडौं ।
भारतको भुवनेश्वरस्थित कलिङ्गा रंगशालामा आजदेखि साफ यू–२० च्याम्पियनसिप सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले माल्दिभ्सविरुद्ध खेल्दैछ । खेल कालिङ्गा स्टेडियममा नेपाली समय अनुसार दिउँसो ४ः१५ देखि सुरु हुनेछ ।
नेपाल र माल्दिभ्सबीचको खेल प्रत्यक्ष प्रशारण हुनेछ । इलाभेन स्पोर्ट्सबाट खेल प्रत्यक्ष प्रशारण हुनेछ । नेपाल र माल्दिभ्सबीचको खेल हेर्न Elevensports यस लिंकमा जानुहोस । साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल सुखद सुरुआतको योजनामा रहेको छ । नेपाल पहिलो खेलमै महत्वपूर्ण तीन अंक जोड्न चाहन्छ ।
हाल सम्म साफ यू–२० मा नेपालले माल्दिभ्सविरूद्ध जम्मा २ खेल खेलेको छ। साफ यू–२० मा नेपाल र माल्दिभ्सले दोस्रोपटक एकअर्काको सामना गर्दैछन् । यसअघि भएका दुई भेटमा एक खेल नेपालले जित्दा एक म्याच बराबरीमा सकिएको थियो । नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले करिब दुई महिनादेखि टोलीलाई प्रशिक्षण दिइरहेका छन्। उनी आफ्नो टोलीले राम्रो नतिजा निकाल्न सक्ने ठान्छन् ।
‘हामी यहाँ जित्नका लागि छौं, तर हामी सबै सहभागी टोलीलाई सम्मान गर्छौं,’ केसीको भनाइ छ, ‘माल्दिभ्ससँगको पहिलो खेल कठिन हुनेछ तर थोरै प्रयासमा जित निकाल्न सकिन्छ।’ माल्दिभ्सका अधिकांश खेलाडीहरू शीर्ष डिभिजन लिगमा व्यस्त थिए, र व्यस्त तालिकाका कारण उनीहरूले टोलीको रूपमा प्रशिक्षणमा आफ्नो धेरै समय बिताउन सकेनन्।
माल्दिभ्सका प्रशिक्षक अहमद शैकर भारतीय टिम बलियो भएको बताए। उनले भने, ‘म व्यक्तिगत रूपमा भारतलाई राम्रो टिम ठान्छु किनभने उनीहरू करिब २-३ वर्षदेखि सँगै छन्। हामीसँग राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा छनोट भएका तीन खेलाडी छन्। म प्रतियोगिताको लागि धेरै उत्सुक छु।’
साफ यू–२० च्याम्पियनसिप पहिलो पटक आयोजना हुन लागेको हो। एएफसीले एएफसी यू-२० च्याम्पियनसिप आयोजना गर्ने भएपछि साफले पनि साफ यू-२० च्याम्पियनसिप आयोजन गर्न लागेको हो। नेपालले दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र ३१ मा भारतसँग खेल्नेछ। नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ । समूह चरणपछि शीर्ष दुई टोलीले अगस्ट ५ मा फाइनल खेल्नेछन्।
नेपाली टोली : गोलकिपर – ईश्वर गुरुङ्ग, उनेश चौधरी, जियारथ शेख । डिफेन्डर – अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा । मिडफिल्डर – दिपेश गुरुङ्ग, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ्ग, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान । फरवार्ड – दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी ।