काठमाडौं ।
प्रि-सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ। जापानमा सोमबार भएको मैत्रीपूर्णमा पीएसजीले जे लिग क्लब गाम्बा ओसाकालाई ६-२ गोल अन्तरले हराएको हो । पीएसजीलाई जित दिलाउन नेयमारले दुई गोल गरे ।
यस्तै पाब्लो सराबिया, लियोनल मेस्सी, केलियन एमबाप्पे र नुनो मेन्डीसले एक एक गोल गरे । ओसाकाका लागि केइसुके कुरोकावा र हिरोटो यामामीले एक एक गोल फर्काए । जापान भ्रमणमा रहेको पीएसजीको लगातार तेस्रो जित हो । यस अघि पीएसजीले कावासाकी र उरावा रेड डाइमण्डलाई हराएको थियो ।
जापानमा भएको खेलको २८औं मिनेटमा पाब्लो सारावियाको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिन सफल भयो । ३२औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । त्यसको एक मिनेटपछि केइसुके कुरोकावाले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।
३७औं मिनेटमा नुनो मेन्डेसले तथा ३९औं मिनेटमा लियोनेल मेस्सीले गोल गरेपछि पिएसजीले पहिलो हाफमा ४–१ को आरामदायी अग्रता लिन सफल भयो । ६०औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरेपछि पिएसजी खेलमा ५–१ ले अघि बढ्यो ।
७०औं मिनेटमा हिरोटो यामामीले गोल गर्दै खेललाई ५–२ को स्थितिमा ल्याएपनि त्यसपछि ८६औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीको फराकिलो जित सुनिश्चित गरे ।
पिएसजी अहिले प्रि–सिजनमा जापानमा रहेको छ । प्रि–सिजनमा पिएसजीको यो लगातार चौथो जित हो । यसअघि पिएसजीले क्वीभिली, कावासाकी फ्रन्टाले र उरावा रेड डाइमन्ड्सलाई पराजित गरेको थियो ।
साफमा माल्दिभ्समाथि नेपालको सानदार जित :
नेपालले साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सोमबार भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
माल्दिभ्सविरुद्ध नेपाललाई सहज जित दिलाउन दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे । माल्दिभ्सविरुद्ध एकतर्फी खेल पस्किएको नेपालले ४२ औं मिनेटमा दिपेशको गोलबाट सुरुआती अग्रता बनायो । कप्तान आयुष घलानको फ्रि-किक माल्दिभ्सका गोलकिपर सैहन अलीले पन्च गर्दै क्लियर गरेका थिए । त्यहिँ बल नियन्त्रणमा लिदै दिपेशले करिब ३४ यार्डबाट उत्कृष्ट गोल गरे ।
दोस्रो हाफमा नेपालले थप दुई गोल गर्यो । खेलको ५८ औं मिनेटमा सुगमले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा कृतिसले पेनाल्टीमा गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाए । माल्दिभ्सका डिफेन्डरले कप्तान आयुसलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा कृतिस चुकेनन् ।
त्यसपछि खेलको इन्जुरी समयमा मनग्यले गोल गर्दै नेपाललाई ४-० को फराकिलो जित दिलाए । त्यसबाहेक नेपालले अन्य थुप्रै गोलको अवसर गुमाएको थियो । माल्दिभ्सले पनि केहि अवसरलाई खेर फालेको थियो । जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।
नेपालले अब साउन ११ गते बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले साउन १५ गते आयोजक भारतको सामना गर्ने तालिका छ । राउन्ड रोविनको अन्तिम खेल नेपालले साउन १७ गते बंगलादेशसँग खेल्नेछ । सहभागी ५ टोलीको राउन्ड रोविन पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।