दोस्रो खेलमा श्रीलंका सामना गर्दै नेपाल, यस्तो छ दुवै टोलीबीचको विगत

Image

काठमाडौं ।

साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले दोस्रो खेलमा भोलि श्रीलंकासँग खेल्ने छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाली समयअनुसार राति सवा ७ बजे सुरु हुनेछ ।

भोलि नेपाल लगातार दोस्रो जितको खोजीमा हुने छ। भने श्रीलंका नेपालविरूद्ध साफ यू-२० च्याम्पियनसिपको पहिलो जितको खोजीमा हुने छ। नेपालले साफ यू-२० च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको छ।

हिजो भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । माल्दिभ्सविरुद्ध एकतर्फी खेल पस्किएको नेपालले ४२ औं मिनेटमा दिपेशको गोलबाट सुरुआती अग्रता बनायो ।कप्तान आयुष घलानको फ्रि-किक माल्दिभ्सका गोलकिपर सैहन अलीले पन्च गर्दै क्लियर गरेका थिए ।

त्यहिँ बल नियन्त्रणमा लिदै दिपेशले करिब ३४ यार्डबाट उत्कृष्ट गोल गरे ।दोस्रो हाफमा नेपालले थप दुई गोल गर्यो । खेलको ५८ औं मिनेटमा सुगमले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा कृतिसले पेनाल्टीमा गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाए । माल्दिभ्सका डिफेन्डरले कप्तान आयुसलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

जसमा कृतिस चुकेनन् ।त्यसपछि खेलको इन्जुरी समयमा मनग्यले गोल गर्दै नेपाललाई ४-० को फराकिलो जित दिलाए । त्यसबाहेक नेपालले अन्य थुप्रै गोलको अवसर गुमाएको थियो । यता श्रीलंका भने आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो। हिजो भएको पहिलो खेलमा श्रीलंकालाई १-० गोल पराजित गरेको थियो। नेपालले भोलि श्रीलंका विरुद्ध सहज जितको खोजीमा हुने छ ।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । त्यस्तै भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

साफ यू–२० को इतिहास

साफ यू–२० नाममा पहिलोपटक आयोजना हुन लागेको भएपनि यस प्रतियोगिताको सुरुवात सन् २०१५ मा भएको थियो । २०१५ मा साफ यू–१९ को नामबाट सुरुवात भएको यस प्रतियोगिता चौथो संकरणसम्म आइपुग्दा साफ यू–२० मा रूपान्तरण भएको हो । २०१७ र २०१९ मा यसलाई साफ यू–१८ को नामबाट आयोजना गरिएको थियो । हालसम्म यसको तीन संस्करण समापन भइसक्दा नेपालले दुई तथा भारतले एक उपाधि हात पारेका छन् ।

सन् २०१५ मा साफ यू–१९ को नाममा घरेलु भूमिमै आयोजना भएको यो प्रतियोगिताको पहिलो संकरणको उपाधि नेपालले जित्यो । उसले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै उपाधि हात पारेको हो । समूह चरणमा भुटानलाई ३–१ र बंगलादेशलाई २–१ ले हराएको नेपालले सेमिफाइनलमा अफगानिस्तालाई ३–२ ले पराजित गरेको थियो ।

सन् २०१८ मा यो प्रतियोगिता साफ यू–१८ को नामले भुटानमा आयोजना गरियो । यो पटक पनि विजेता बन्दै नेपालले उपाधि रक्षा गर्न सफल भयो । सिंगल राउण्ड रोबिनाका आधारमा सञ्चालन गरिएको प्रतियोगितामा नेपालले माल्दिभ्स र भारतलाई समान २–० तथा बंगलादेशलाई २–१ ले पराजित गर्दा भुटानसँग १–० को हार बेहोरेको थियो । बंगलादेशसँग समान ९ अंक रहे पनि नेपाल ‘हेड टु हेड’ को आधारमा शीर्ष स्थनमा रहँदै विजेता बनेको हो ।

सन् २०१९ मा पनि यो प्रतियोगिता साफ यू–१८ कै नामले आयोजना गरियो । नेपालमै आयोजना भएको यो संस्करणको उपाधि भारतले उचाल्यो । भारतले फाइनलमा बंगलादेशलाई २–१ ले हराउँदै उपाधि उचालेको हो । अघिल्लो दुई संस्करणको विजेता नेपालले भने घरेलु भूमिमै समूह चरण पार गर्न सकेन ।

समूह ‘ए’ मा रहेको नेपालले माल्दिभ्ससँग १–१ को बराबरी खेल्दा भुटानसँग ३–० को फराकिलो हार बेहोर्‍यो । पहिलो संस्करणमा समूह ‘बी’ का दुवै खेलमा हार बेहोरेको माल्दिभ्सले समूह चरण पार गर्न सकेन । ऊ अफगानिस्तासँग ३–१ र भातसँग ३–० ले पराजित भएको थियो ।

सिंगल राउण्ड रोबिनाका आधारमा सञ्चालित प्रतियोगिताको दोस्रो संस्करणमा पनि माल्दिभ्स बिना जित अन्तिम रहेर बाहिरियो । माल्दिभ्स भुटानसँग १–०, नेपाल र बंगलादेशसँग समान २–० तथा भारतसँग २–१ ले पराजित भएको थियो । अघिल्ला दुई संकरणमा जितविहीन हुँदै बाहिरिएको माल्दिभ्सले तेस्रो संस्करणमा भने तेस्रो स्थान हासिल गर्‍यो ।

भुटान गोलरहित तथा नेपालसँग समान १–१ को बराबरी खेल्दै समूह ‘ए’ को उप विजेतका रुपमा सेमिफाइनल पुगेको माल्दिभ्स भारतसँग ४–० ले पराजित हुँदै फाइनलमा स्थान बनाउन असफल रह्यो । माल्दिभ्सले तेस्रो स्थानका लागि भएको खेलमा भुटानलाई १–० ले पराजित गरेको थियो ।