पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा श्रीलंका विजयी, यी खेलाडी बने जितका ‘हिरो’

Image

काठमाडौं ।

पाहुना टोली पाकिस्तान र घरेलु टोली श्रीलंकाबीचको दुई खेलको टेस्ट सिरिज बराबरीमा सकिएको छ । गालेमा बिहीबार दोस्रो टेस्टमा श्रीलंका विजयी भएसँगै सिरिज १-१ को बराबरीमा सकिएको हो । विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत रहेको दोस्रो टेस्टमा घरेलु टोली २ सय ४६ रनले विजयी भएको हो ।

५ सय ८ रनको लक्ष्य पछ्याएको पाकिस्तान दोस्रो इनिङमा २ सय ६१ रनमा अलआउट भयो । पाकिस्तानका लागि कप्तान बाबर अजामले ८१ रनको अर्धशतकीय इनिङ खेले । ईमाम उल हकले ४९ तथा मोहम्मद रिजवानले ३७ रन बनाए । यासिर शाह र नसिम शाहले २७ र १८ रन बनाए । श्रीलंकाका प्रबाथ जयसुर्याले ५ तथा रमेश मेन्डिसले ४ विकेट लिए ।

पहिलो इनिङमा १४७ रनको अग्रता बनाएको घरेलु टोलीले दोस्रो इनिङमा ८ विकेट गुमाएर ३ सय ८० रन थपेको थियो। उसका लागि धनन्जय डि सिल्भाले १ सय ९ रनको शतकीय इनिङ खेले । कप्तान दिमुथ करुणारत्नेले ६१ रनको अर्धशतकीय इनिङ खेले । रमेश मेन्डिसले अविजित रहदै ४५ रन बनाए । पाकिस्तानका नसिम शाह र मोहम्मद नवाजले समान २/२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले पहिलो इनिङमा अलआउट हुनु अघि ३ सय ७८ रन बनाएको थियो । श्रीलंकाका लागि दिनेश चण्डिमल , निरोशन डिकवेला र ओशाडा फर्नान्डोले अर्धशतकीय इनिङ खेले । चण्डिमलले ८०,डिकवेलाले ५१ र फर्नान्डोले ५० रन बनाए । एन्जेलो म्याथ्युजले ४२ तथा कप्तान दिमुथ करुणारत्नेले ४० रन बनाए ।

पाहुना टोलीका लागि नसिम शाह तथा यासिर शाहले समान ३/३ विकेट लिए । मोहम्मद नवाजले २ तथा नउमान अलिले १ विकेट लिए । पहिलो इनिङमा पाकिस्तानले २ सय ३१ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

उसका लागि अघा सलमानले ६२ रनको अर्धशतकीय इनिङ खेले । ईमाम उल हकले ३२ तथा यासिर शाहले २६ रन बनाए । मोहम्मद रिजवान र फावाद आलमले समान २४/२४ रन बनाए । यस ईनिङमा पाहुना टोली १ सय ४७ रनले पछि पर्यो। पाकिस्तानलाई सस्तैमा रोक्न श्रीलंकाका रमेश मेन्डिसले ५ विकेट लिए । प्रबाथ जयसुर्याले ३ विकेट लिए ।