Khabar Board
Flash logo up side
flash header

नेपाली फास्ट बलिङका विकल्प यसरी बने किशोर महतो

Nirbachan m

काठमाडौं ।

सोमपाल कामी र करण केसीले ८ वर्षदेखि नेपाली क्रिकेट टिममा फास्ट बलिङ धानेका छन् । उनीहरू चोटग्रस्त भएमा विकल्पमा फास्ट बलिङ गर्ने कोही थिएन, नेपालले फास्ट बलरविना नै खेल्नु पर्ने स्थिति थियो । तर अब भने सोमपाल र करणको विकल्पका रुपमा नेपाली क्रिकेट टिममा किशोर महतो देखा परेका छन् ।

उमेर समूहबाट उदाएर ढिला गरी सिनियर टोलीमा डेब्यु गरेका किशोर फाष्ट बलिङतर्फ आफूलाई स्थापित गर्ने चरणमा पुगेका छन् । नाम किशोर भए पनि मैदानमा अब परिपक्क बन्दै गएका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत १ साउनमा ग्लास्गोमा भएको खेलमा घरेलु टोली स्कटल्याण्डविरुद्ध डेब्यु गर्दै उनी एक दिवसीय अन्तर्राष्ट्रिय खेल्ने नेपालको ३४औं खेलाडी बने । सन् २०२२ मा मात्रै नेपालका लागि एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्ने उनी सातौं खेलाडी हुन् ।

सोमपाल र करणले जस्तै किशोरले क्रिकेटको आधारभूत ज्ञान भारतबाटै सिकेका हुन् । भारतको पञ्जावबाट नेपाल फर्किएर चितवन क्रिकेट एकेडेमीमा भर्ना भएपछि किशोरको क्रिकेट यात्रा फक्रिएको हो । नवलपुर कावासोतीका २२ वर्षीय किशोरले यु-१९ हुँदै राष्ट्रिय टिमसम्मको यात्रा तय गरे । उमेर समूहमा सँगै खेलेका साथी राष्ट्रिय टिममा पुगिसक्दा उनी अवसरको खोजीमै थिए ।

त्यो अवसरलाई सदुपयोग गर्नका लागि कडा मेहनत गरिरहेका थिए । २०७६ फागुनमा एसीसी इस्ट्रन रिजन टी-२० का लागि पहिलोपल्ट सिनियर टिममा परे पनि डेब्यु गर्न पाएनन् । समकालीन साथीहरूको तुलनामा पछि परे पनि आफूलाई सधैं तयार राखिरहे । उनलाई थाहा थियो, ‘कुनै दिन अवसर आउनेछ ।’

लिस्ट एको डेब्युमै ५ विकेट

किशोरले वैशाखमा त्रिवि क्रिकेट मैदानमा जिम्बाबे ए टिमसँगको एक दिवसीय खेलमा सिनियर टिमबाट डेब्यु गरे । टेष्ट मान्यता प्राप्त राष्ट्रको ‘ए’ टिमसँगको खेलले लिष्ट ए मान्यता पाएको थियो । अवसरलाई सदुपयोग गर्न उनी माहिर देखिए ।

पहिलो पटक टेष्ट राष्ट्रको ‘ए’ टिमसँग खेलेको नेपालले तीन खेलको एक दिवसीय शृंखला २-१ ले जित्यो । त्यसमा किशोरले तेस्रो खेलमा मात्र अवसर पाए । पहिलो अवसरलाई नै गज्जबले सदुपयोग गरेका किशोरको प्रदर्शन ७-१-४३-५ रहृयो ।

३३ ओभरमा छोट्याएको खेलमा कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले ६ विकेटले खेल जित्दै शृंखला आफ्नो पक्षमा पारेको थियो ।

७ ओभरमा ४३ रन दिएर ५ विकेट लिएका किशोर प्लेअर अफ दि म्याच बने । ‘त्यस खेलले मेरो आत्मविश्वास बढेको हो । अझै राम्रो खेल्न सक्छु भन्ने भयो’ किशोरले अनलाइनखबरसँग भने, ‘म आफूलाई हरसमय तयार अवस्थामा राख्छु ।’

एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु

साढे दुई वर्षअघि नै राष्ट्रिय टिममा परे पनि किशोरले टी-२० अन्तर्राष्ट्रिमा खेल्न पाएका थिएनन् । जिम्बावे ए टिममाथिको प्रभावशाली बलिङले उनलाई सिनियर टिममा निरन्तरता मिल्यो ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिका र ओमानसँगको शृंखलाका लागि नेपालको टिममा परे पनि खेल्न पाएनन् ।

सिनियर दुई बलरको विकल्पका साथै विकेटको अवस्थाअनुसार उनलाई टिममा सामेल गराइएको थियो । स्कटल्याण्डमा भएको लिग टु शृंखलामा पनि किशोरले राष्ट्रिय टिममा निरन्तरता पाए । नामिबिया र स्कटल्याण्ड सहभागी उक्त शृखंलाको सुरुआती तीन खेल किशोरले बेञ्चमै बसेर हेरे ।

अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध टिममा परे । उनलाई नेपालका बलिङ कन्सलट्यान्ट धम्मिका प्रसादले डेब्यु क्याप प्रदान गरे । ‘राष्ट्रिय टिमबाट खेल्नुभन्दा पनि मैले आफूलाई खेलका लागि तयारी अवस्थामा राखिरहेको थिएँ । बिहान पुबुदु सरले आज तिमी खेल्दैछौ भन्नुभएको थियो । पछि डेब्यु क्याप पाउँदा उत्साहित थिएँ,’ किशोरले अविष्मरणीय क्षण स्मरण गरे ।

एक दिवसीय अन्तर्राष्ट्रिय डेब्युमा भने किशोरले आफूलाई प्रमाणित गर्न सकेनन् । लामो पर्खाइपछिको अवसरमा उनी ब्याटिङतर्फ रनविहीन र बलिङतर्फ विकेटविहीन रहे । उनी ९ बल खेलेर खाता नखोली अविजित रहे । बलिङमा ३ ओभरमा १ मेडन राख्दै २१ रन खर्चिए । त्यो खेल नेपालले ८ विकेटले गुमाएको थियो ।

Center article

भारतमा क्रिकेट सिकाइ

भारत विश्व क्रिकेटमै महारथी देश हो । छिमेकी हुनुका नाताले नेपाल क्रिकेटमा पनि त्यसको प्रभाव छ । भारतमा क्रिकेट संस्कृतिका रुपमा विकसित छ । नेपालका धेरै खेलाडीले भारतबाटै आफ्नो क्रिकेटयात्रा प्रारम्भ गरेका थिए । किशोर पनि त्यहीमध्येका एक हुन् । उनले भारतबाटै क्रिकेटको आधारभूत ज्ञान लिएका थिए ।

‘एउटा सानो क्लबमा सिनियर दाइहरूले क्रिकेट सिकाउनुहुन्थ्यो । मैले यत्तिकै रमाइलो लागेर क्रिकेट खेल्न थालेको थिएँ,’ उनी सम्झिन्छन् । भारतमा मजदुरी गर्ने बुबा आमासँगै पञ्जाव पुगेका थिए उनी ।

भारतमा गल्ली क्रिकेट खेल्ने किशोर आमाबुबासँगै नेपाल फर्किँदा १५ वर्षका थिए । बुबाको प्रयासमा उनी चितवन क्रिकेट एकेडेमीमा भर्ना भए र उनको वास्तविक करिअर सुरु भयो । ‘नेपाल आएपछि राजु खड्का सरसँग चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षक लिन थालें । त्यहाँबाट धेरै कुराहरु सिकें,’ उनले भने ।

राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने त्यही एकेडेमीका उत्पादन हुन् । सुरुमा उनलाई आफ्नो प्रदर्शन उत्कृष्ट बनाउन चुनौती थियो । उनी भर्ना हुँदा दीपेश श्रेष्ठ, सुशील कँडेल, आकाश थापाहरु प्रशिक्षणरत थिए ।

घरेलु क्रिकेटदेखि उमेर समूहको राष्ट्रिय टिमसम्म

सन् २०१६ डिसेम्बरमा श्रींलकामा भएको यु-१९ एसिया कपका लागि आयोजित ट्यालेन्ट हन्टमा सहभागी भए पनि राष्ट्रिय टिममा छनोट हुन सकेनन् । राष्ट्रिय टिमको बाटो बन्द भए पनि घरेलु क्रिकेटमा पहिचान बनाउन थाले । सन् २०१७ मा सुरु भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट किशोरले मध्यमाञ्चलबाट खेले ।

त्यही वर्ष एसीसी यु-१९ एसिया कप खेले । यु-१९ एसिया कप छनोटको रुपमा रहेको यस प्रतियोगितामा उनले सिंगापुरविरुद्ध डेब्यु गर्दै ६ ओभरमा ३ मेडन राख्दै २५ रन खर्चेर २ विकेट लिए ।

‘पीएम कपको पहिलो संस्करणमा शरद दाइको कप्तानीमा खेल्दा सिनियर दाइहरूबाट धेरै कुरा सिक्ने अवसर पाएँ । त्यहाँ राम्रो प्रदर्शन गरेपछि त्यसले अझ सहयोग गर्‍यो,’ करिअरको सुरुआती दिन सम्झिंदै किशोर भन्छन् ।

पहिलो पीएम कपमा उनले पश्चिमाञ्चलविरुद्ध दशौं नम्बरमा ब्याटिङ गर्दै अविजित २० रन बनाए । त्यही खेलमा ३ विकेट समेत लिए । यस्तै एपीएफविरुद्धको खेलमा भने उनले ९ रन जोडे । संघीय संरचनाअनुसार बागमती प्रदेशबाट उनले दोस्रो संस्करणको पीएम कप खेले ।

तेस्रो संस्करण गण्डकी प्रदेशबाट खेलेका उनले त्यसपछि दुई संस्करण विभागीय टोली एपीएफबाट खेले । फ्रेञ्चाइज क्रिकेटमा एभरेष्ट्र प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग सबै खेलिसकेका छन् ।

थाइल्याण्डमा हारको निराशा

२०७६ फागुनमा थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगिताका लागि किशोर महतो राष्ट्रिय टिममा परेका थिए । सिनियर टिममा पहिलो पटक पर्दा उनमा छुट्टै उत्साह थियो । एसिया कप टी-२० मुख्य छनोटमा पुग्न यो क्षेत्रीय छनोट थियो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टिममा पूर्व कप्तान पारस खड्का समेत थिए । तर यो समूहमा सजिलै विजेता बन्ने अनुमान थियो ।

तर, किशोरका लागि यो भ्रमण खल्लो भयो । एकातिर उनले डेब्यु गर्न पाएनन् अर्कोतिर नेपाल अर्को चरणमा पुग्न पनि सकेन । ‘त्यहाँको कन्डिसन हेरेर पहिलो रोजाइ छानिएको थियो । यदि अवसर पायो भने खेल्छु भन्ने चाहिं थियो’ उनले भने, ‘टिमले हारिरहेकमो हेर्दा चाहिं म मैदानमा भाको भए केही गर्न सक्थें कि भन्ने लागिरहन्छ ।’

राष्ट्रिय टिममा खेलेपछि त्यहाँ टिक्न गाह्रो छ । पछिल्लो समय खेलाडीहरू राष्ट्रिय टिमबाट खेल्ने बाहिरिने क्रम चलिरहेको छ । किशोरले बाहिरै बसेर पनि यो सबै देखिसकेका छन् । उनी अझै मिहिनेत गरेर राष्ट्रिय टिममा निरन्तर खेल्न चाहन्छन् । ‘चुनौती अझै बढेको छ । मैले जे गरिरहेको छु त्यसमा अझै राम्रो गर्नुपर्छ । मेहनेत गर्दै जानेछु’ स्वीङ र लेग कटर राम्रो भएका ५ फिट ११ इन्च अग्ला किशोर भन्छन्, ‘डिसिप्लिन बलिङमा मैले अझै सुधार गर्नुपर्छ ।’ यो समाचार अनलाइनखबरबाट साभार गरिएको हो।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.