काठमाडौं ।
इंल्याण्डविरूद्धको टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा दक्षिण अफ्रिकाले सहज जित हात पारेको छ। गएरातिको भएको खेलमा घरेलु टोलीलाई ५८ रनले हराउँदै दक्षिण अफ्रिकाले तीन खेलको सिरिज १–१ को बराबरीमा पुर्याएको छ।
२०८ रनको लक्ष्य पछ्याएको इंल्याण्ड १६.४ ओभरमा सबै विकेट गुमाएर १४९ रनमा अलआउट भयो। उसका लागि जोनी बेयरिस्टोले सर्वाधिक ३० रनको योगदान दिए। कप्तान जोस बटलरले २९, मोइन अलीले २८, जेसन रोयले २० र लियाम लिभिङ्गस्टोनले १८ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
दक्षिण अफ्रिकाका लागि एन्डिले फेहलुक्वायो र ताबरेज शम्सीले सर्वाधिक तीन-तीन विकेट लिए। यस्तै लुङ्गी एनगिडीले दुई तथा केशव महाराज र कागिसो रवाडाले एक-एक विकेट लिए। त्यसअघि कार्डिफस्थित सोफिया गार्डेन्समा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २०७ रन बनायो।
उसका लागि राइली रूसोले अविजित ९६ रनको उत्कृष्ट पारी खेले। ५५ बल खेलेका उनले १० चौका र पाँच छक्का प्रहार गरेका थिए। यस्तै रिजा हेन्ड्रिक्सले ५३ रन बनाउने क्रममा ३२ बल खेल्दै तीन चौका र दुई छक्का प्रहार गरे।
हेनरिक क्लासेनले १९ रन बनाउँदा ट्रिस्टन स्टब्स (अविजित) र क्विनटन डि ककले समान १५-१५ रन जोडे। इंग्ल्याण्डका लागि मोइन अली, क्रिस जोर्डन र रिचर्ड ग्लेसनले समान एक-एक विकेट हात पारे। यसअघि पहिलो खेलमा इंग्ल्याण्ड ४१ रनले विजयी भएको थियो। यी दुई टोलीबीचको तेस्रो तथा अन्तिम र निर्णायक खेल आइतबार हुनेछ।














