काठमाडौं ।
युएईको फ्रेञ्चाइज लिग इन्टरनेसल लिग टी-२० (आइएल टी-२०) ले विश्वका शीर्ष खेलाडीलाई एक सिजनमा ४ लाख ५० हजार अमेरिकी डलर (५ करोड ७० रुपैयाँ बढी) सम्म पारिश्रमिक दिने तयारी गरेको छ। यस लिगमा केही नेपाली खेलाडीहरूले पनि मौका पाउने सम्भावना उच्च रहेको छ। यो पारिश्रमिक क्रिकेट लिगमध्ये भारतको इन्डियन प्रिमियर लिग (आइपिएल) पछिको बढी हो।
जसका कारण युएईको टी-२० लिग आइपिएलपछिको आकर्षक लिग बन्ने भएको छ। इमिरेट्स क्रिकेट बोर्ड (इसिबी) ले लिगलाई स्वीकृती दिए पनि उसको स्वामित्वमा लिग छैन। इसिबीका उपाध्यक्ष खालिद अल जरुनी र बोर्डका महासचिव मुबाशिर उस्मानीको नेतृत्वमा लिगको व्यवस्थापन छ।
जनवरी २०२३ मा हुने लिगको प्रति टोलीले खेलाडीको तलबका लागि २.५ मिलियन अमेरिकी डलरसम्म खर्च गर्न पाउने प्रावधान राख्ने तयारी गरिएको छ। आकर्षक पारिश्रमिकका कारण विश्वका चर्चित खेलाडीले समेत लिग खेल्ने बताइएको छ।
अस्ट्रेलियाको बिग ब्यास लिग छाडेर डेभिड वार्नर युएईमा लिग खेल्न आउने दाबी गरिएको छ। आइपिएलमा सबैभन्दा धेरै कमाउने खलाडीले प्रति सिजनमा २ मिलियन डलर पाउछन्। यस्तै पाकिस्तान सुपर लिगमा २ लाख डलर, द हन्ड्रेडले १ लाख ६४ हजार डलर र बिग ब्यास लिगमा सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडीले प्रति सिजन २ लाख ३८ हजार अमेरिकी डलरसम्म पाउने गरेका छन्।
युएईको लिगमा ६ टोलीले भाग लिनेछन्। एक टोलीमा १८ खेलाडी हुनेछन्। लिग जनवरी ६ देखि फेब्रुअरी १२ सम्म युएईमा खेलिने तालिका छ। प्रत्येक टोलीले अन्य टोलीसँग लिग चरणमा दुई पटक खेल्नेछ, त्यसपछि चार प्ले-अफ खेलहरू हुनेछन्।
लिगको ६ टोली मध्ये तीन टोली आइपिएल टोलीको कम्पनीको स्वामित्व छ। मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सले युएईको लिगमा पनि स्वामित्व किनेका छन्। अन्य तीन टोलीहरू ल्यान्सर क्यापिटलको स्वामित्वमा छन्।
लिगको उद्देश्य एक्सपोजर प्रदान गर्ने र युएईका नयाँ प्रतिभा खोजी गर्ने बताइएको छ। एक टोलीका १८ खेलाडी मध्ये १२ विदेशी खेलाडी राख्न सकिनेछ। एक टोलीमा कम्तिमा तीन यूएईका खेलाडी, दुई एसोसिएट देशका खेलाडी र यूएई यू-२३ टोलीको एक खेलाडी हुनुपर्छ। प्लेइङ सेटमा कम्तिमा एक युएई र एक एसोसिएट खेलाडीसहित बढीमा नौ विदेशी खेलाडी हुन सक्छन्।
लिगमा बढीमा ३ लाख ४० हजार अमेरिक डलर पारिश्रमिक र घटीमा १० हजार अमेरिकी डलर पारिश्रमिक हुनेछ। टोलीले बोनसको रुपमा ५ लाख अमेरिकी डलरसम्म बाढ्न सक्नेछ। खेलाडीहरू ड्राफ्ट र अक्सनबाट छनोट हुनेछन् भने पाँच खेलाडी सिधा छनोट गर्न सकिनेछ। यस्तो हुँदा एसोसिएट खेलाडीको कोटामा नेपालले सन्दीप लामिछाने, करण केसी,कुशल भुर्तेल,आरिफ शेख, दिपेन्द्र सिंह ऐरी मौका पाउने सम्भावना उच्च देखिएको छ।
के हो सन्दीपले खेल्ने सिक्स्टी क्रिकेट?
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। वेस्ट इन्डिज क्रिकेटले आयोजना गर्ने यस प्रतियोगिता क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी अघि आयोजना हुनेछ ।
प्रतियोगिता अगस्ट २४ देखि २८ सम्म संचालन हुनेछ । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलामा ३ टोलीको सहभागिता रहने छ । पुरुषतर्फ सीपीएलकै ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । यस प्रतियोगिता ६० बलको हुनेछ ।
सिक्स्टी क्रिकेट केही नियमहरु यसप्रकारका रहेका छन् – ६० बलको एक इनिङ रहने यस प्रतियोगितामा सुरुको ३० बल पिचको एक ईन्डबाट गर्नुपर्नेछ । बाँकी ३० बल अर्को ईन्डबाट गर्नु पर्ने हुन्छ ।
४५ मिनेट भित्र एक इनिङ सकाउनु पर्नेछ । ४५ मिनेटमा एक इनिङ नसकिएमा अन्तिम ओभरमा फिल्डर गुमाउनु पर्नेछ । ब्याटिङ टिम ६ विकेट गुमाएपछि अलआउट हुनेछ । एक बलरले २ ओभर मात्र बलिङ गर्न पाउने छ ।