दक्षिण अफ्रिकाले जित्यो इंग्ल्यान्डविरुद्धको टी ट्वान्टी सिरिज, यी खेलाडी बने जितको ‘हिरो’

Image

काठमाडौं ।

दक्षिण अफ्रिकाले घरेलु टोली इंग्ल्यान्डविरूद्धको तीन खेलको टी-ट्वान्टी सिरिज जितेको छ । साउथह्याम्टनमा आइतबार राति भएको तेस्रो तथा निर्णायक खेलमा इंग्ल्यान्डलाई ९० रनले हराउँदै दक्षिण अफ्रिकाले सिरिज २-१ ले जितेको हो।

दक्षिण अफ्रिकाले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको घरेलु टोली १६.४ ओभरमा अलआउट हुँदै १ सय १ रन मात्र जोड्न सक्यो। उसका लागि जोनी बेयस्ट्रोले सर्वाधिक २७ रन बनाए। यस्तै जासन रोयले १७ तथा कप्तान जोस बटलर र क्रिस जोर्डनले समान १४-१४ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

इंग्ल्यान्डलाई सस्तैमा रोक्न दक्षिण अफ्रिकाका ताब्रेज साम्सीले सर्वाधिक ५ विकेट लिए। केशब महाराज २ तथा एन्डिले, एडम मार्क्रम , एन्रिक नोर्कियाले समान १-१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो।

उसका लागि रिजा हेन्ड्रिक्स र एडम माकरमले अर्धशतकीय इनिङ खेले। हेन्ड्रिक्सले ५० बलमा सर्वाधिक ७० रन बनाउँदा ‍मार्क्रमले ३६ बलमा अविजित ५१ रन बनाए। यस्तै राईली रूसोले ३१ रन बनाउँदा कप्तान डेबिड मिलरले २२ रन जोडे।

घरेलु टोलीका लागि डेबिड विलिले सर्वाधिक ३ विकेट लिए। मोईन अली र क्रिस जोर्डनले समान १-१ विकेट हात पारे। यो सँगै तीन खेलको सिरिज पाहुना टोलीले २-१ ले जित्यो। पहिलो खेलमा इङ्ल्याण्ड ४१ रनले विजयी हुँदा दोस्रो खेल दक्षिण अफ्रिकाले ५८ रनले जितेको थियो।