यस्तो रह्यो नेपालले वानडेमा डेब्यू गरेको ४ वर्ष, हर्नुहोस् समग्र प्रदर्शन

Image

काठमाडौं ।

नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त गरेको चार वर्ष पूरा भएको छ । सन् २०१८ अगस्ट १ नेपाली क्रिकेटको नयाँ अध्यायको सुरुआत भएको दिन हो । नेपालले ४ वर्ष अघि आजकै दिन पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको थियो । नेदरल्यान्ड्स नेपालको प्रतिद्वन्दी थियो ।

नेदरल्यान्ड्सको एमेस्टेलभिलमा भएको त्यस खेलमा नेपाल खराब ब्याटिङका कारण ५५ रनले पराजित हुन पुग्यो । हार भए पनि त्यस खेल नेपालका लागि ऐतिहासिक थियो । नेदरल्यान्ड्सविरुद्धको खेलसँगै नेपालले एकदिवसीय अन्तराष्ट्रियमा पाइला चालेको ४ वर्ष पूरा भईसकेको छ । चार वर्षको अबधीमा नेपालले ४ दुई देशीय सिरिजमा ९ खेल खेल्यो ।

जसमा ३ खेलमा जित हासिल गर्दा १ खेलमा बराबरी गर्न सफल रह्यो । दुई खेलमा मात्र हार व्यहोरेको छ । चार वर्षको अवधीमा नेपालले कुल ३० एकदिवसीय अन्तराष्ट्रिय खेलेको छ । नेपालले १३ जित, १६ हार र एकमा बराबरीको नतिजा पाएको छ ।

यस अवधिमा पारस खड्का, ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछाने कप्तानीको भूमिकामा रहे । नेपालका लागि हालसम्म ३४ जना खेलाडीले एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरिसकेका छन् ।

एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउनेको शीर्ष स्थानमा रोहित पौडेल रहेका छन् । उनले ८ सय ८ रन बनाएका छन् । दोस्रो स्थानमा आसिफ शेख र तेस्रो स्थानमा आरिफ शेख रहेका छन् । आसिफले ५ सय १४ र आरिफले ४ सय ९२ रन बनाएका छन् ।

यस अवधिमा नेपालका ३ खेलाडीले ३ शतक बनाएका छन् । १२ खेलाडीले २८ अर्धशतक बनाएका छन् । एक इनिङमा सर्वाधिक रन रोहित पौडेलले बनाएका छन् । उनले १ सय २६ रन बनाएका छन् । दोस्रो स्थानमा रहेका पूर्वकप्तान पारस खड्काले १ सय १५ रन बनाएका छन् ।

चार वर्षको अवधिमा कप्तान सन्दीप लामिछानेले ३० खेलमा ६९ विकेट लिएका छन् । दोस्रो स्थानमा रहेका सोमपाल कामीले ४३ विकेट लिएका छन् । यस अवधिमा सर्वाधिक धेरै ओभर बलिङ गर्ने खेलाडीमा २ सय ६७ ओभर बलिङ गरेका सन्दीप लामिछाने शीर्षमा रहेका छन्।

चार वर्षमा अवधिमा सर्वाधिक क्याच लिनेको शीर्ष स्थानमा कुशल भुर्तेल रहेका छन् । उनले १९ खेलमा १९ नै क्याच लिएका छन् । उनलाई पछ्याईरहेका आसिफ शेखले ९ क्याच लिएका छन् । यस अवधिमा नेपालका लागि सर्वाधिक सफल एकदिवसीय अन्तराष्ट्रिय कप्तानमा ज्ञानेन्द्र मल्ल रहेका छन् ।

उनले १० खेलमा कप्तानी गर्दै ६ खेलमा जित दिलाएका छन् । दोस्रो स्थानमा रहेका पारस खड्काले ६ खेलमा कप्तानी गरेका छन् । उनले ३ जित र ३ मा हार दिलाएका छन् । तेस्रो स्थानमा हालका कप्तान सन्दीप लामिछाने रहेका छन् । उनले १४ खेलमा कप्तानी गरेका छन् ।

४ जित,९ हार र १ खेलमा बराबरी गराएका छन् । पपुवा न्यु गिनीविरुद्ध किर्तिपुरमा बनाएको २ सय ८६ रन नेपालले एक इनिङमा बनाएको सर्वाधिक रन हो । नेपालले युएईविरुद्ध बनाएको १ सय ३ रन सर्वाधिक कम हो ।