काठमाडौं ।
स्पेनिस क्लब बार्सिलोनामा स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ९ नम्बरको जर्सी लगाउने भएका छन् । बार्सिलोनाले शुक्रबार लेवान्डोस्कीलाई सार्वजनिक गर्दै ९ नम्बरको जर्सी प्रदान गरिएको जनाएको छ ।
यसअघि मेम्पिस डिपाएले बार्सिलोनामा ९ नम्बरको जर्सी लगाएका थिए । तर यसै समरमा जर्मन क्लब बायर्न म्युनिखबाट बार्सिलोना आएका लेवान्डोस्कीलाई क्लबले शुक्रबार नोउ क्याम्पमा प्रिजेन्टेसन गर्दै ९ नम्बर जर्सी प्रदान गरेको हो । ‘गुड मर्निङ कुलर्स,’ लेवान्डवस्कीले सुरुमा दर्शकको अगाडि भने, ‘म यहाँ आउन पाउँदा खुशी छु धन्यवाद ।’
लेवान्डोस्कीले ९ नम्बर जर्सी लगाउने भएपछि डिपाएले क्लब छाड्ने संकेत समेत देखिएको छ । बार्सिलोनाले पनि डिपाएलाई अन्य क्लबमा पठाउन चाहेको छ । अमेरिकामा प्रि सिजन टुरमा लेवान्डोस्कीले १२ नम्बर जर्सी लगाएका थिए । तर नोउ क्याम्पमा प्रिजेन्टेसनमा भने लेवान्डोस्की ९ नम्बर जर्सी लगाएर देखिएका थिए ।
नेपाली फुटबलर विमल राना पनि अष्ट्रेलिया पलायन
फुटबल खेलाडी विदेशीने शृंखला कायम हुँदा अर्का एक नेपाली खेलाडी अष्ट्रेलिया पुगेका छन् । राष्ट्रिय टिमबाट खेलिसकेका फरवार्ड विमल राना अष्ट्रेलिया गएका हुन् । गत सिजन मनाङ मर्स्याङ्दी क्लबबाट ए डिभिजन लिग खेलेका विमल नेपालमा फुटबल खेल नभएपछि विदेशीएका छन् ।
केही समयअघि मात्रै राष्ट्रिय टिमका दर्शन गुरुङ, सन्तोष गुरुङ र नविन गुरुङ अष्ट्रेलिया पुगेका थिए । त्यसअघि आशिष लामा र सुमन लामा पनि अष्ट्रेलिया नै पुगिसकेका छन् । त्यसैमा विमल राना पनि थपिएका हुन् । विमलले २०७५ चैतमा कुवेतविरुद्धको मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।