भारतले जित्यो साफ यू-२० उपाधि, गुरर्कित एक्लैले गरे यति धेरै गोल

Image

काठमाडौं ।

घरेलु टोली भारतले साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधि जितेको हो । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको फाइनलमा बंगलादेशलाई अतिरिक्त समयमा ५-२ गोल अन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो ।

भारतलाई जित दिलाउन गुर्किरात सिंहले ह्याट्रिकसहित ४ गोल गरे । यस्तै हिमान्सु जान्ग्राले एक गोल गरे । बंगलादेशका मोहमद रोजन र शाहीम मियाले एक एक गोल गरे । रोमान्चक खेलमा सुरुआती अग्रता भारतले नै बनाएको थियो ।

दोस्रो मिनेटमा गुर्किरात सिंहले पेनाल्टीमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । तर, ४५ औं मिनेटमा मोहमद रोजनले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ४८ औं मिनेटमा शाहीम मियाले गोल गर्दै बंगलादेशलाई २-१ को अग्रता दिलाए ।

खेलको ६० औं मिनेटमा गुर्किरातले व्यक्तिगत दोस्रो गोल भारतलाई २-२ को बराबरीमा ल्याए । त्यसपछि खेलको निर्धारित ९० मिनेटमा थप गोल भएन र खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा भारतले लगातार तीन गोल थप्यो । खेलको ९२ औं मिनेटमा हिमान्सु जान्ग्राले गोल गर्दै भारतलाई ३-२ को अग्रता दिलाए । ९३ औं मिनेटमा गुर्किरातले ह्याट्रिक पूरा गर्दा भारत ४-२ ले अघि रह्यो ।

त्यसपछि खेलको ९९ औं गुर्किरातले व्यक्तिगत चौंथो गोल गर्दै भारतलाई ५-२ को जित दिलाए । यस जितसँगै भारतले लिग चरणमा व्यहोरेको हारको बदला लिएको छ । बंगलादेशले लिग चरणमा भारतलाई २-१ ले हराएको थियो ।