काठमाडौं ।
घरेलु टोली भारतले साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको फाइनलमा बंगलादेशलाई ५-२ गोल अन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो ।
भारतले लगातार दोस्रो पटक उपाधि जितेको हो। योसँगै उसले नेपालको सर्वाधिक उपाधि जित्ने कीर्तिमान बराबर गरेको छ। यसअघि नेपालले सर्वाधिक दुईपटक उमेर समूहको साफ उपाधि जितेको थियो। नेपालले सन् २०१५ र १७ मा उपाधि जितेको थियो।
भारतलाई जित दिलाउन गुर्किरात सिंहले ह्याट्रिकसहित ४ गोल गरे । यस्तै हिमान्सु जान्ग्राले एक गोल गरे । बंगलादेशका मोहमद रोजन र शाहीम मियाले एक एक गोल गरे । रोमान्चक खेलमा सुरुआती अग्रता भारतले नै बनाएको थियो । दोस्रो मिनेटमा गुर्किरात सिंहले पेनाल्टीमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।
तर, ४५ औं मिनेटमा मोहमद रोजनले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ४८ औं मिनेटमा शाहीम मियाले गोल गर्दै बंगलादेशलाई २-१ को अग्रता दिलाए । खेलको ६० औं मिनेटमा गुर्किरातले व्यक्तिगत दोस्रो गोल भारतलाई २-२ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको निर्धारित ९० मिनेटमा थप गोल भएन र खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा भारतले लगातार तीन गोल थप्यो । खेलको ९२ औं मिनेटमा हिमान्सु जान्ग्राले गोल गर्दै भारतलाई ३-२ को अग्रता दिलाए ।
९३ औं मिनेटमा गुर्किरातले ह्याट्रिक पूरा गर्दा भारत ४-२ ले अघि रह्यो । त्यसपछि खेलको ९९ औं गुर्किरातले व्यक्तिगत चौंथो गोल गर्दै भारतलाई ५-२ को जित दिलाए । यस जितसँगै भारतले लिग चरणमा व्यहोरेको हारको बदला लिएको छ । बंगलादेशले लिग चरणमा भारतलाई २-१ ले हराएको थियो ।