प्रिमियर लिगमा आर्सनलको विजयी सुरूआत

Image

काठमाडौं ।

प्रिमियर लिगमा आर्सनलले विजयी सुरुआत गरेको छ। गएराति सम्पन्न यस सिजनको पहिलो उद्घाटन खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २-० गोल अन्तरले पराजित गरेको हो।

आर्सनलको जितमा गाब्रियल मार्टिनेलीले एक गोल गरेका थिए भने एक गोल उपहार पाएको थियो। खेलको २० औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। ८५ औं मिनेटमा प्यालेसका मार्क गुएहीले आत्मघाती गोल गरेपछि आर्सनलले सहज जित हात पार्‍यो।योसहित आर्सनलले महत्वपूर्ण ३ अंक हासिल गरेको छ। आर्सनलले अब अर्को खेल अगस्ट १३ मा लेस्टर सिटीविरुद्ध खेल्ने छ।

प्रिमियर लिगमा आज ६ खेल हुँदै

विश्व फुटबलको सबैभन्दा चर्चित लिग, इंग्लिस प्रिमियर लिग सुरु भइसकेको छ । लिग अन्तर्गत आज शनिबार ६ खेल हुनेछ । नेपाली समयअनुसार साँझ ५:१५ बजे नवप्रवेशी फुल्हमले गत सिजनको उपविजेता लिभरपुलको सामना गर्नेछ ।

लिभरपुलले गत साता कम्युनिटी सिल्ड जित्ने क्रममा म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो । टोलीका नयाँ फरवार्ड डार्विन न्युनेजले डेब्युमा प्रभाव जमाएका थिए । आज उनले सुरुवातबाट खेल्ने सम्भावना छ ।

रातको ७:४५ बजे हुने खेलमा टोटेनहम हट्सपरले साउथह्याम्पटनसँग खेल्नेछ । ट्रान्सफर विन्डोमा ६ खेलाडी अनुबन्ध गरिसकेको टोटेनहम यसपटक उपाधि होडमा आउने अपेक्षा गरिएको छ । गत सिजन इटालियन प्रशिक्षक एन्टोनियो कोन्टेको आगमनपछि टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो । ट्रान्सफर विन्डोमा उनले चाहेको खेलाडी भित्र्याएपछि टोली थप बलियो भएको छ ।

रातको ७:४५ बजे अन्य ३ खेल पनि हुनेछ । यस सिजन बढुवा भएको एएफसी बर्नमाउथले एस्टन भिल्लासँग खेल्नेछ । लिड्स युनाइटेडले वल्भ्ससँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै नव प्रवेशी नटिङहम फरेस्टले न्युकासल युनाइटेडको मैदानमा खेल्नेछ । न्युकासल प्रशिक्षक एडी हाउ र नयाँ मालिकको आगमनपछि बेग्लै रुपमा देखिएको छ ।

दिनको अन्तिम खेलमा चेल्सीले एभर्टनको भ्रमण गर्नेछ । खेल रातको १०:१५ बजे हुनेछ । चेल्सीका लागि प्रि सिजन सोचेजस्तो हुन सकेको छैन । ट्रान्सफर विन्डोमा आफूले चाहेको खेलाडी अनुबन्ध गर्न नपाएपनि क्लबले तीन मुख्य खेलाडी भित्र्याएको छ । रहिम स्टर्लिङ, कालिदु कौलिबाली र मार्क कुकुरेला चेल्सी आएका छन् ।

आजको खेल तालिका: ५:१५ बजे : फुल्हम विरुद्ध लिभरपुलसँग हुनेछ । ७:४५ बजे : टोटेनहम हट्स्पर विरुद्ध साउथह्याम्पटनसँग हुनेछ । ७:४५ बजे : बर्नमाउथ विरुद्ध एस्टन भिल्लासँग हुनेछ । ७:४५ बजे : लिड्स युनाइटेड विरुद्ध वल्भ्ससँग हुनेछ । ७:४५ बजे : न्युकासल युनाइटेड विरुद्ध नटिङहम फरेस्ट सँग हुनेछ । १०:१५ बजे : एभर्टन विरुद्ध चेल्सीसँग हुनेछ