काठमाडौं ।
नेपाली फुटबलरहरू विदेश पलायन भइरहेका छन्। शनिबार मात्रै नेपाली राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका दुई खेलाडी अष्ट्रेलिया पुगेका छन्। खेलाडीहरू आफ्नो भविष्य राम्रो बनाउन नेपाल छाडेर विदेश जान थालेपछि नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एक स्टाटस लेखेका छन्।
उनले नेपाली खेलकुदको भविष्य जोगाउनका लागि केही गर्न सरकारलाई आग्रह गरेका छन्। शनिबार दिउँसो सामाजिक सञ्जालमार्फत् अल्मुताइरीले नेपाली खेलकुदको भविष्य जोगाउनको लागि तुरुन्तै ५ देखि ७ जनासम्मको टोली बनाएर रोडम्याप तयार गर्न सरकारसँग आग्रह गरेका हुन्।
‘आफ्नो भविष्य राम्रो बनाउन नेपाल छाडेर विदेश गएका खेलाडीहरुलाई म दोष दिन सक्दिनँ। नेपाली खेलकुदको भविष्य जोगाउन केही गर्न सरकारलाई विनम्र अनुरोध गर्दछु,’ उनले भनेका छन्, ‘नेपाली खेलकुदको भविष्य जोगाउनको लागि तुरुन्तै ५ देखि ७ जनासम्मको टोली रोडम्याप बनाउन खेलकुद मन्त्री, खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र महासंघलाई विनम्र आग्रह गर्दछु, नेपाली खेलकुद बचाऔं।’
एन्फा एकेडेमीको उत्पादन २४ वर्षीय हेमन्त शनिबार अष्ट्रेलिया पुगेका हुन्। उनले गत सिजन शहीद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लबबाट खेलेका थिए। त्यसअघि उनले च्यासल युथ क्लबबाट शीर्ष डिभिजनको लिग खेलेका थिए।
हेमन्तले सन् २०१६ जुन ६ मा भारतसँगको मैत्रीपूर्ण खेलबाट सिनियर टोलीमा डेब्यू गरेका थिए। हेमन्त उमेर समूहको साफ विजेता खेलाडी हुन्। नेपालले सन् २०१५ मा साफ यू–१९ च्याम्पियनसिप जित्दा उनी टिममा थिए।
उनले भारतविरुद्धको फाइनल खेलमा पेनाल्टी सुटआउटमा गोल गरेका थिए। यसका साथै हेमन्तले थ्री स्टारसँगै च्यासल, मनाङ–मर्स्याङ्दीलगायत विभिन्न क्लबबाट मोफसलका प्रतियोगिताहरु खेलेका छन्।
शुक्रबार मात्रै नेपाली राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका फरवार्ड विमल राना अष्ट्रेलिया पुगेका थिए। गत सिजन मनाङ मर्स्याङ्दी क्लबबाट ए डिभिजन लिग खेलेका विमल नेपालमा फुटबल खेल नभएपछि विदेशिएका छन् ।
केही समयअघि मात्रै राष्ट्रिय टिमका दर्शन गुरुङ, सन्तोष गुरुङ र नविन गुरुङ अष्ट्रेलिया पुगेका थिए। त्यसअघि आशिष लामा र सुमन लामा पनि अष्ट्रेलिया नै पुगिसकेका छन्। त्यसैमा विमल र हेमन्त पनि थपिएका हुन्। विमलले २०७५ चैतमा कुवेतविरुद्धको मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टिममा डेब्यू गरेका थिए।