सन्दीपले पाए फेरि अर्को ठूलो मौका, भए यूएई टी–२० लिगको ‘मार्की’ खेलाडी

Image

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछाने युएईको फ्रेन्चाईज क्रिकेट यूएई इन्टरनेसनल टी-ट्वान्टी लिगको मार्की खेलाडीको सूचीमा परेका छन् ।

ईमिरेट्स क्रिकेट बोर्डले पहिलो संस्करणका लागि सन्दीपलाई मार्की खेलाडीको सूचीमा राखेको हो ।

ईमिरेट्स क्रिकेट बोर्डले सोमबार सन्दीपसहित २१ खेलाडीलाई मार्कीको रुपमा राखिएको जनाएको छ ।प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुवरी १२ सम्म आयोजना हुनेछ ।

प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ३४ खेल हुनेछ । प्रतियोगितामा सहभागी टोलीले १८ खेलाडी टिममा राख्न पाउने छन् । जसमा १२ विदेशी खेलाडी राख्न पाईनेछ ।

यस्तै हरेक टोलीले तीन जना यूएईका खेलाडी, दुई एसोसिएट राष्ट्रका र एक यूएई यू-२३ टिमका खेलाडी अनिवार्य गरिएको छ । प्लेईङ-११ मा भने कम्तिमा एक जना युएई र एसोसियट राष्ट्रका खेलाडी हुनु पर्नेछ ।

करोडौं पारिश्रमिक

युएईको फ्रेञ्चाइज लिग इन्टरनेसल लिग टी-२० (आइएल टी-२०) ले विश्वका शीर्ष खेलाडीलाई एक सिजनमा ४ लाख ५० हजार अमेरिकी डलर (५ करोड ७० रुपैयाँ बढी) सम्म पारिश्रमिक दिने तयारी गरेको छ। यो पारिश्रमिक क्रिकेट लिगमध्ये भारतको इन्डियन प्रिमियर लिग (आइपिएल) पछिको बढी हो।

जसका कारण युएईको टी-२० लिग आइपिएलपछिको आकर्षक लिग बन्ने भएको छ। इमिरेट्स क्रिकेट बोर्ड (इसिबी) ले लिगलाई स्वीकृती दिए पनि उसको स्वामित्वमा लिग छैन। इसिबीका उपाध्यक्ष खालिद अल जरुनी र बोर्डका महासचिव मुबाशिर उस्मानीको नेतृत्वमा लिगको व्यवस्थापन छ।

जनवरी २०२३ मा हुने लिगको प्रति टोलीले खेलाडीको तलबका लागि २.५ मिलियन अमेरिकी डलरसम्म खर्च गर्न पाउने प्रावधान राख्ने तयारी गरिएको छ। आकर्षक पारिश्रमिकका कारण विश्वका चर्चित खेलाडीले समेत लिग खेल्ने बताइएको छ।

आइपिएलमा सबैभन्दा धेरै कमाउने खलाडीले प्रति सिजनमा २ मिलियन डलर पाउछन्। यस्तै पाकिस्तान सुपर लिगमा २ लाख डलर, द हन्ड्रेडले १ लाख ६४ हजार डलर र बिग ब्यास लिगमा सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडीले प्रति सिजन २ लाख ३८ हजार अमेरिकी डलरसम्म पाउने गरेका छन्।

लिगको ६ टोली मध्ये तीन टोली आइपिएल टोलीको कम्पनीको स्वामित्व छ। मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सले युएईको लिगमा पनि स्वामित्व किनेका छन्। अन्य तीन टोलीहरू ल्यान्सर क्यापिटलको स्वामित्वमा छन्।

लिगको उद्देश्य एक्सपोजर प्रदान गर्ने र युएईका नयाँ प्रतिभा खोजी गर्ने बताइएको छ। एक टोलीका १८ खेलाडीमध्ये १२ विदेशी खेलाडी राख्न सकिनेछ। एक टोलीमा कम्तिमा तीन यूएईका खेलाडी, दुई एसोसिएट देशका खेलाडी र यूएई यू-२३ टोलीको एक खेलाडी हुनुपर्छ। प्लेइङ सेटमा कम्तिमा एक युएई र एक एसोसिएट खेलाडीसहित बढीमा नौ विदेशी खेलाडी हुन सक्छन्।

लिगमा बढीमा ३ लाख ४० हजार अमेरिक डलर पारिश्रमिक र घटीमा १० हजार अमेरिकी डलर पारिश्रमिक हुनेछ। टोलीले बोनसको रुपमा ५ लाख अमेरिकी डलरसम्म बाढ्न सक्नेछ। खेलाडीहरू ड्राफ्ट र अक्सनबाट छनोट हुनेछन् भने पाँच खेलाडी सिधा छनोट गर्न सकिनेछ।