मुख्य प्रशिक्षकमा नियुक्त भएका प्रभाकर नेपाली टिमसँग धेरै नरहेन, यस्तो छ क्यानको सम्झौता

Image

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार भारतीय क्रिकेट टोलीका पूर्वअलराउन्डर तथा रणजी ट्रफी विजेता प्रभाकरलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

प्रभाकरले यसअघि अफगानिस्तान क्रिकेट टोली हेरिसकेका छन्। यस्तै, रणजी ट्रफी विजेता टोली देल्ली, राजस्थान र युपी क्रिकेट संघको प्रशिक्षण सम्हालिसकेका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएपछि प्रभाकरले भने, ‘नेपाली क्रिकेटलाई हेरिरहेको छु, खेलाडीको प्रतिभा र क्षमतालाई हेरेर नेपाली क्रिकेट बलियो बनाउनका लागि काम गर्न उत्सुक छु।’

प्रभाकरले क्यानसँग लामो सम्झौता गरेका छैनन्। त्यसैले उनी पनि नेपाली टिमसँग कमै बस्ने सम्भावना छ। हाललाई उनीसँगको सम्झौता एक वर्षको हुने क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले पुष्टि गरे। उनको तलबबारे भने क्यानले खुलाएको छैन। तर, पुबुद दासानायकेको भन्दा बढी नै पारिश्रमिकदिइने बताइएको छ।

प्रभाकरले एक दशकभन्दा भारतको राष्ट्रिय टिमका लागि खेले। सन् १९८४ डिसेम्बरमा इंग्ल्याण्डविरुद्ध टेष्टमा डेब्यु गरेका प्रभाकरले १९९५ मा न्यूजिल्याण्डविरुद्ध अन्तिम टेष्ट खेलेका थिए। यस्तै, उनले १९८४ कै अप्रलिमा श्रीलंकाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए।

१९९६ मा श्रीलंकाविरुद्ध नै उनले अन्तिम एकदिवसीय खेले। बलिङ अलराउण्डर रहेका प्रभाकरले ३९ टेष्टमा ९६ र १३० एकदिवसीयमा १५७ विकेट लिएका थिए। टेष्टमा उनको उच्च स्कोर १२० थियो। उनले टेष्टमा एक शतक र ९ अर्धशतकसहित एक हजार ६ सय रन बनाएका थिए।

एकदिवसीयमा भने उनले एक हजार ८५८ रन बनाए। उनले एकदिवसीयको उच्च स्कवर १०६ थियो। १५४ फस्ट क्लास क्रिकेट खेलेका उनले ७ हजारभन्दा बढी रन बनाएका छन् भने ३८५ विकेट लिएका छन्। उनले सन् १९८७, १९९२ र १९९६ को एकदिवसीय विश्वकपसमेत खेलेका थिए। लोअर अर्डमा ब्याटिङ गर्ने गाजियाबाद उत्तरप्रदेशका प्रभाकरले कुनै खेलमा ओपनिङसमेत गरेका थिए।