काठमाडौं ।
भारतले यूएईमा हुने एसिया कपका लागि टिम घोषणा गरेको छ। सोमबार बीसीसीआईले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय बलियो टिम घोषणा गरेको हो। जिम्बाब्वे भ्रमणमा विश्राम लिएका धेरै नियमित खेलाडीको पुनरागमन गरेका छन्।
टिम ब्याट्सम्यान विराट कोहली र केएल राहुलले पुनरागमन गरेका छन्। तीव्र गतिका बलर जसप्रित बुमराह पिठ्यूको चोटका कारण टोलीबाट बाहिर भएका छन्। तीव्र गतिका बलर हर्षल पटेल पनि चोटका कारण टिममा परेका छैनन्।
भारतले बायाँ हाते फास्ट बलर अर्शदीप सिंहलाई टिममा समावेश गरेको छ। उने वेष्ट इण्डिज भ्रमणमा प्रभावशाली प्रदर्शन गरेका थिए। भुवनेश्वर कुमार र आवेश खान टोलीमा अन्य दुई तीव्र गतिका बलर छन्। पूर्वकप्तान कोहली टोलीमा फर्किएका छन्। उनलाई भारतको वेष्ट इण्डिज भ्रमण र जिम्बाब्वेविरुद्धको आगामी शृङ्खलाका लागि विश्राम दिइएको थियो।
चोटसँग लामो लडाइँपछि पूर्ण फिटनेसमा फर्किएका राहुलले पनि पुनरागमन गरेका छन्। आईपीएलपछि राहुलको स्पोर्ट्स हर्नियाको शल्यक्रिया गरिएको थियो। उनी वेष्ट इण्डिजसँगको भारतको टी–२० शृंखलाको समयमा फर्कने तयारीमा थिए। तर उनको पुनरागमन भ्रमणको अघि उनलाई कोरोना देखिएको थियो।
भारतको टोलीले बलियो स्पिन अट्याक देखाएको छ। लेग स्पिनर युजवेन्द्र चहल वेष्ट इण्डिजसँग पाँच खेलको टी–२० शृङ्खलामा आराम पाएपछि फेरि टिममा फर्किएका छन्। स्पिनरको रूपमा रवीन्द्र जडेजा, रविचन्द्र अश्विन र रवि बिश्नोई पनि छन्।
भारतले मध्यक्रमका पावर हिटरहरू पनि छनोट गरेको छ। जसमा हार्दिक पाण्ड्या, ऋषभ पन्त, दिनेश कार्तिक, सूर्यकुमार यादव र दीपक हुडा छन्। एसिया कप यूएईमा २७ अगस्टबाट सुरु हुनेछ।
भारतले आफ्नो पहिलो खेल २८ अगस्टमा चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध दुबईमा खेल्नेछ। अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने आईसीसी पुरुष टी–२० विश्वकपको तयारीलाई तीव्र पार्दै प्रतियोगिता सबैका लागि महत्त्वपूर्ण हुनेछ।
एसिया कप खेल्ने भारतीय टोली : रोहित शर्मा (कप्तान) केएल राहुल –उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), दीपक हुडा, दिनेश कार्तिक (विकेटकिपर), हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, आर अश्विन, युजवेन्द्र चहल, रवि बिश्नोई, भुवनेश्वर कुमार, अर्शदीप सिंह र आवेश खान। वैकल्पिक खेलाडी : श्रेयस अय्यर, अक्षर पटेल र दीपक चाहर।