को हुन् राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकर? यस्तो छ उनको अन्तर्राष्ट्रिय करियर

Image

काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार साँझ भारतीय प्रशिक्षक मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको घोषणा गर्यो ।

क्यानले प्रभाकरलाई एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिएपछि क्यानले प्रभाकरलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।

आफ्नो समयको चर्चित अलराउण्डर प्रभाकरले भारतका लागि ३९ टेस्ट र १ सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । तर, भारतका पूर्व अलराउण्डर प्रभाकर क्रिकेट जगतमा विवादरहित नाम भने होइन् । उनी म्याच फिक्सिङ (खेल मिलेमतो) लगायतका विवादमा तानिएका थिए ।

उनी विवादमा तानिएपनि राम्रा खेलाडी थिए । उनले भारतका लागि ९६ टेस्ट विकेट र १ सय ५७ एकदिवसीय अन्तराष्ट्रिय विकेट लिएका छन् ।उनले भारतका लागि १६ सय टेस्ट रन बनाउँदा एकदिवसीयममा १८ सय ५८ रन बनाएका छन् ।

५९ वर्षीय प्रभाकरले १९८४ देखि १९९६ सम्म भारतका लागि खेलेका थिए । उनले भारतका लागि अन्तिम पटक १९९६ को विश्वकप खेलेका थिए । त्यस विश्वकपको च्याम्पियन टोली श्रीलंकाविरुद्धको खेलमा उनले ४ ओभरमा ४७ रन खर्चिएका थिए ।

प्रभाकरलाई सन् १९९९ मा म्याच फिक्सिङको आरोप लाग्यो । भारतीय सञ्चार संस्था तेहल्काले स्टिङ अप्रेसन गर्दै प्रभाकरमाथि म्याच फिक्सिङको आरोप लगाएको थियो । त्यसपछि बीसीसीआईले उनलाई भारतीय टिमबाट खेल्न प्रतिबन्ध लगाएको थियो ।

प्रभाकर प्रशिक्षकको रुपममा समेत विवादको घेरामा परे । रणजी टिम दिल्लीका प्रशिक्षक बनेका प्रभाकर २०११ मा टिमका खेलाडी तथा अन्य अफिसियलका बारेमा सार्वजनिक रुपमा गलत टिप्पणी गरेको आरोपमा टिमबाट हटाईएका थिए ।

त्यसअघि उनी बलिङ प्रशिक्षक रहदा दिल्लीले रणजी ट्रफी जितेको थियो । उनले राजस्थानको रणजी टिमका मुख्य प्रशिक्षक भएर समेत काम गरे । यस्तै प्रभाकर २०१६ मा भारतमा नै आयोजना भएको टी-ट्वान्टी विश्वकपमा अफगास्तानको बलिङ प्रशिक्षक थिए ।

प्रशिक्षकमा अनुभवी

लामो समयको प्रतिबन्धपछि उनी सन् २००७/०८ को संस्करणमा रणजी ट्रफीमा उनले दिल्लीको बलिङ प्रशिक्षकको रुपमा काम गरेका थिए । गौतम गम्भीरको कप्तानीमा दिल्लीले उत्तर प्रदेशलाई ९ विकेटले हराउँदै उपाधि जितेको थियो । आकाश चोपराले पहिलो इनिङ र गम्भीरले दोस्रो इनिङमा शतक हानेका थिए ।

२००९/१० मा उनी राजस्थानको मुख्य प्रशिक्षक बनेका थिए । त्यसपछि दिल्ली पुगेका उनी बोर्डसँग खटपटका कारण बर्खास्तीमा परे । उनले २०१५ देखि २०१६ मा भारतमा भएको टि२० विश्वकपसम्म अफगानिस्तानको बलिङ प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।