यूएईविरुद्ध स्कटल्याण्डको फराकिलो जित, नेपाललाई ठूलो फाइदा

Image

काठमाडौं ।

आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा घरेलु टोली स्कटल्याण्डले यूएईलाई हराएको छ। स्कटल्याण्डले यूएईलाई ६४ रनले पराजित गरेको हो। स्कटल्याण्डले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको यूएईले ४१.५ ओभरमा अलआउट हुँदै १ सय ९८ रन मात्र बनाउन सक्यो ।

उसका लागि रोहन मुस्तफाले अर्धशतकीय पारी खेले। तर पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। उनले १०२ बलमा ४ चौका र १ छक्काको मद्दतमा अविजित ६५ रनको योगदान दिए। त्यस्तै, बसिल हमीदले ३४, चन्दुगापोयल रिजवानले ३२, चिराग सुरी र जवार फरिदले १५÷१५ रन बनाए। स्कटल्याण्डका लागि मार्क वाटले ४, क्रिस सोलेले ३, माइकल लीस्कले २ र सफियान शरिफले १ विकेट लिए।

त्यसअघि एबरडीनस्थित मनोफिल्ड पार्कमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ४८.५ ओभरमा सबै विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो । उसका लागि कलुम म्याक्लोयडले सर्वाधिक ७६ रन बनाए। ८८ बलको सामना गरेका उनले यसक्रममा ७ चौका हिर्काए।

त्यस्तै, माइकल लीस्कले ३९, क्रेग वाल्सीले ३५, क्रिस ग्रेभ्सले २६, कप्तान म्याथ्यू क्रसले २५, कायल कोएट्जरले २३ र मार्क वाटले १० रन बनाए। यूएईका लागि जाहूर खानले ४, रोहन मुस्तफा, सबिर अलीले २–२ तथा कप्तान अहमद राजा र बसिल हमीदले १/१ विकेट लिए ।

लिग–२० मा स्कटल्याण्डको यो १७ औं जित हो। यूएईको भने यो ९औं हार हो। स्कटल्याण्डको जितले नेपाललाई फाइदा पुगेको छ। शीर्ष तीनमा रहेको यूएई पराजित हुनु भनेको नेपालका लागि फाइदा पुग्दै जानेछ। त्यति मात्रै होइन, नेपालले बाँकी रहेको बढीभन्दा बढी खेल पनि जित्नुपर्ने नै हुन्छ।

जारी लिग–२ स्कटल्याण्डले हालम्म कूल २५ म्याच खेलेको छ। जसमा उसले १७ मा जित, ६ मा हार र दुई खेलमा अंक बाँडेको छ। ३६ अंकसहित स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ। लिग–३ को शीर्ष स्थानमा ओमान रहेको छ। यूएई तेस्रो स्थानमा रहेको छ। उसले २३ मध्ये १२ मा जित, ९ मा हार र दुई खेलमा अंक बाँडेको छ।

नेपाल छैटौँ स्थानमा छ। २० म्याच खेलको नेपालले ११ मा हार, ८ मा जित र एक खेलमा अंक बाँडेको छ। अब नेपालले १६ म्याच खेल्न बाँकी रहेको छ। बाँकी रहेका म्याचमा नेपालले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने देखिन्छ। यदि लिग–२ को शीर्ष तीन भित्र पर्न सके नेपालले वानडे विश्वकप छनोट खेल्न पाउनेछ। शीर्ष तीनमा स्थान बनाउन नसके नेपालले प्लेअफ खेल्नुपर्ने हुन्छ।

अंक तालिका :