काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न दिने निर्णय गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले एनएसएल आगामी असोज २३ गतेबाट मंसिर २ गतेसम्म संचालन गर्न दिने निर्णय गरेको हो ।
यस्तै बैठकले एनएसएलसँग विगतमा गरिएको त्रुटिपूर्ण सम्झौता खारेज गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी गराए । बैठकले अध्यक्ष पंकज विक्रम नेम्वाङको संयोजकत्वमा ७ सदस्यीय सम्झौता नविकरण समिति गठन गरेको छ ।समितिमा उपाध्यक्ष दिपक खतिवडा, कुमार केसी, एन्फा सदस्य टिकाराम लामा, मनीराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा छन् ।
७ सदस्यीय सम्झौता नविकरण समितिले एनएसएलसँग त्रुटिपूर्ण सम्झौता खारेज गर्दै सम्झौता नविकरण गर्नेछ ।पछिल्लो समय ए डिभिजन क्लबहरुले असन्तुष्टि जनाएपछि एनएसएलको आयोजना विवादमा परेको थियो । एनएसएलमा यस पटक १० टिमले प्रतिस्पर्धा गर्ने छन् । यस वर्ष तीन टिमलाई थप गर्दै एनएसएलले प्रतियोगिता खेल्ने टिमको संख्या १० पुर्याईएको हो ।
यस पटक विराटनगर सिटी एफसी, विरगञ्ज युनाईटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी दि मेचीको सहभगिता हुनेछ । यस्तै प्रतियोगिता काठमाडौं र पोखरामा सञ्चालन गर्ने आयोजकको तयारी रहेको छ ।
महिला साफको टिकट मूल्य तय
नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको टिकट मूल्य तय भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले टिकट मूल्य तय गरेको हो । बैठकले महिला साफको दुई फरक टिकट मूल्य निर्धारण गरेको छ ।
सामान्य प्यारापिटतर्फ ३ सय र भिआइपीतर्फ ५ सयको टिकट मूल्य निर्धारण गरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ। उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ ।
समूह ‘बी’ मा रहेको नेपालले भदौ २१ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
नेपाल सहज मानिएको ‘बी’ रहेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ । यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।