Khabar Board

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल; अलमुताईरीको ठाँउमा यी नयाँ प्रशिक्षक

काठमाडौं ।

आगामी असोज दोस्रो साता बंगलादेशसँग हुने एक मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी नहुने भएका छन् । अलमुताईरीको अनुपस्थितिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रदिप हुमागाईलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको छ ।

एन्फाको आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले अलमुताईरीको अनुपस्थितिमा प्रदिपलाई कार्यवाहक दिने निर्णय गरेको हो । अलमुताईरी कतारमा स्वास्थ्यलाभ गर्दै गरेको कारण बैठकले प्रदिपलाई कार्यवहाक दिने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

नेपाली राष्ट्रिय फुटबल टोलीले असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने छ । मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुनेछ ।

अलमुताईरीबारे निर्णय गर्न महासचिवलाई जिम्मा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीबारे निर्णय गर्ने जिम्मेवारी महासचिवलाई दिएको छ । एन्फाको आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले अलमुताईरीबारे निर्णय गर्ने जिम्मा एन्फा महासचिव किरण राईलाई दिएको हो ।

‘मुख्य प्रशिक्षकको बारेमा कतार फुटबल संघसँग थप समन्वय गरि थप निर्णय लिन एन्फा महासचिवलाई जिम्मेवारी दिने निर्णय गरिएको छ,’ बैठकमा सहभागी एक सदस्यले भने ।

यस्तै एन्फ ले ‘ए’ डिभिजन लिग फुटबलको मिति तय गरेको छ। प्रतियोगिता पुस दोस्रो साता हुने भएको छ। एन्फाको बिहीबार बसेको कार्यसमितिको दोस्रो बैठकले ए डिभिजन लिगको मिति तोकेको हो।

‘ए’ डिभिजन लिग पुस ८ देखि चैत ४ गतेसम्म आयोजना गर्नका लागि मिति तोकिएको एन्फाका एक सदस्यले जानकारी दिए। यस्तै सी डिभिजन लिग असोज १ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको छ।

आजै बसेको बैठकले बी र सी डिभिजन लिगको पनि मिति तय गरेको छ। बैठकले बी डिभिजन लिग चैत ८ देखि वैशाख १५ र सी डिभिजन लिग वैशाख १८ देखि जेठ २७ गतेसम्म गर्ने निर्णय गरेको छ।

एन्फाले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न दिने निर्णय गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले एनएसएल आगामी असोज २३ गतेबाट मंसिर २ गतेसम्म संचालन गर्न दिने निर्णय गरेको हो ।

यस्तै बैठकले एनएसएलसँग विगतमा गरिएको त्रुटिपूर्ण सम्झौता खारेज गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी गराए । बैठकले अध्यक्ष पंकज विक्रम नेम्वाङको संयोजकत्वमा ७ सदस्यीय सम्झौता नविकरण समिति गठन गरेको छ ।

समितिमा उपाध्यक्ष दिपक खतिवडा, कुमार केसी, एन्फा सदस्य टिकाराम लामा, मनीराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा छन् । ७ सदस्यीय सम्झौता नविकरण समितिले एनएसएलसँग त्रुटिपूर्ण सम्झौता खारेज गर्दै सम्झौता नविकरण गर्नेछ।

पछिल्लो समय ए डिभिजन क्लबहरुले असन्तुष्टि जनाएपछि एनएसएलको आयोजना विवादमा परेको थियो । एनएसएलमा यस पटक १० टिमले प्रतिस्पर्धा गर्ने छन् । यस वर्ष तीन टिमलाई थप गर्दै एनएसएलले प्रतियोगिता खेल्ने टिमको संख्या १० पुर्याईएको हो ।

यस पटक विराटनगर सिटी एफसी, विरगञ्ज युनाईटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी दि मेचीको सहभगिता हुनेछ । यस्तै प्रतियोगिता काठमाडौं र पोखरामा सञ्चालन गर्ने आयोजकको तयारी रहेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.