काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबारे निर्णय गर्ने जिम्मेवारी महासचिवलाई दिएको छ। एन्फाको आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले कतारसँग समन्वय गरेर अल्मुताइरीबारे निर्णय गर्ने जिम्मा एन्फा महासचिव किरण राईलाई दिएको हो।
‘मुख्य प्रशिक्षकको बारेमा कतार फुटबल संघसँग थप समन्वय गरी थप निर्णय लिन एन्फा महासचिवलाई जिम्मेवारी दिने निर्णय गरिएको छ,’ बैठकमा सहभागी एक सदस्यले भने। अल्मुताइरी पछिल्लो समय विवादमा तानिएका छन्।
गत बैशाखमा राष्ट्रिय टोलीका १० सिनियर खेलाडीले प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका हुन्। उक्त विवादबारे छानविन गर्न गठित समितिले तयार पारेको रिपोर्ट अनुसार मुख्य प्रशिक्षकसमेत दोषी रहेको देखाएको छ।
यस्तै, प्रतिवेदनले एसियन कप छनोटपछि कतार फुटबल संघसँगको सहयोगलाई निरन्तरता र सहमति कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरेको थियो। अल्मुताइरी हाल कतारमा रहेका छन्। आगामी असोजमा बंगलादेशसँगको मैत्रीपूर्णमा उनी टोलीसँग हुने छैनन्। एन्फाले उनको अनुपस्थितिमा प्रदीप हुमागाईंलाई कार्यवाहक नियुक्त गरिसकेको छ।
एन्फ ले ‘ए’ डिभिजन लिग फुटबलको मिति तय गरेको छ। प्रतियोगिता पुस दोस्रो साता हुने भएको छ। एन्फाको बिहीबार बसेको कार्यसमितिको दोस्रो बैठकले ए डिभिजन लिगको मिति तोकेको हो। ‘ए’ डिभिजन लिग पुस ८ देखि चैत ४ गतेसम्म आयोजना गर्नका लागि मिति तोकिएको एन्फाका एक सदस्यले जानकारी दिए।
यस्तै सी डिभिजन लिग असोज १ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको छ। आजै बसेको बैठकले बी र सी डिभिजन लिगको पनि मिति तय गरेको छ। बैठकले बी डिभिजन लिग चैत ८ देखि वैशाख १५ र सी डिभिजन लिग वैशाख १८ देखि जेठ २७ गतेसम्म गर्ने निर्णय गरेको छ।
एन्फाले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न दिने निर्णय गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले एनएसएल आगामी असोज २३ गतेबाट मंसिर २ गतेसम्म संचालन गर्न दिने निर्णय गरेको हो ।
यस्तै बैठकले एनएसएलसँग विगतमा गरिएको त्रुटिपूर्ण सम्झौता खारेज गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी गराए । बैठकले अध्यक्ष पंकज विक्रम नेम्वाङको संयोजकत्वमा ७ सदस्यीय सम्झौता नविकरण समिति गठन गरेको छ ।
समितिमा उपाध्यक्ष दिपक खतिवडा, कुमार केसी, एन्फा सदस्य टिकाराम लामा, मनीराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा छन् । ७ सदस्यीय सम्झौता नविकरण समितिले एनएसएलसँग त्रुटिपूर्ण सम्झौता खारेज गर्दै सम्झौता नविकरण गर्नेछ।
पछिल्लो समय ए डिभिजन क्लबहरुले असन्तुष्टि जनाएपछि एनएसएलको आयोजना विवादमा परेको थियो । एनएसएलमा यस पटक १० टिमले प्रतिस्पर्धा गर्ने छन् । यस वर्ष तीन टिमलाई थप गर्दै एनएसएलले प्रतियोगिता खेल्ने टिमको संख्या १० पुर्याईएको हो ।
यस पटक विराटनगर सिटी एफसी, विरगञ्ज युनाईटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी दि मेचीको सहभगिता हुनेछ । यस्तै प्रतियोगिता काठमाडौं र पोखरामा सञ्चालन गर्ने आयोजकको तयारी रहेको छ ।
यस्तै, नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको टिकट मूल्य तय भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले टिकट मूल्य तय गरेको हो । बैठकले महिला साफको दुई फरक टिकट मूल्य निर्धारण गरेको छ ।
सामान्य प्यारापिटतर्फ ३ सय र भिआइपीतर्फ ५ सयको टिकट मूल्य निर्धारण गरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ। उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ ।
समूह ‘बी’ मा रहेको नेपालले भदौ २१ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
नेपाल सहज मानिएको ‘बी’ रहेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ । यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।