काठमाडौं ।
नेपाली खेलकुदको कुम्भमेला राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण आगामी असोज अन्तिममा हुँदैछ। असोज अन्तिममा राष्ट्रिय खेलकुद मात्र होइन क्रिकेट र फुटबलका ठूला प्रतिस्पर्धा आयोजना हुने तय भएको छ।
हुन त राष्ट्रिय खेलकुदमा पनि क्रिकेट र फुटबलको प्रतिस्पर्धा हुन्छ। तर अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय खेलकुद हुने समयमा प्रतियोगिता गर्न आयोजकलाई समय उपलब्ध गराएका छन्।
राष्ट्रिय खेलकुद परिषद्ले नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कात्तिक ३ सम्म आयोजना गर्नका लागि तीव्र गतिमा काम गरिरहेको छ। गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा क्रिकेट र फुटबलसहित ३६ खेलमा प्रतिस्पर्धा हुनेछ भने सात प्रदेश, तीन विभाग र गैरआवासिय नेपाली गरी ११ टिमबीच भिडन्त हुनेछ।
क्यानले यही समयमा पहिलो संस्करणको नेपाल टी-२० लिग आयोजना गर्दैछ। भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजना अधिकार दिइएको नेपाल टी-२० लिग असोज ६ देखि नै सुरू हुनेछ। ६ टिम सहभागी हुने लिगको फाइनल खेल कात्तिक ५ गते हुनेछ। फाइनल राष्ट्रिय खेलकुद सकिएको २ दिनपछि हुने तय छ।
बिहीबार एन्फाले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता आगामी असोज २३ देखि मंसिर २ गतेसम्म गर्नका लागि आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टलाई समय उपलब्ध गराउने निर्णय गर्यो। एनएसएलमा १० टिमबीच प्रतिस्पर्धा हुने तय छ।
यसअघि क्यानले पोखरामा दुई वटा क्रिकेट मैदान नभएकाले पुरुषको प्रतिस्पर्धाको रुपमा नेपाल टी-२० लिगलाई मान्यता दिन अनुरोध गरेको थियो।
नेपाल टी-२० लिग : असोज ८ देखि कात्तिक ५ सम्म हुने भएको छ । यस्तै नेपाल सुपर लिग : असोज २३ देखि मंसिर २ सम्म हुने भएको छ । यस्तै नवौं राष्ट्रिय खेलकुद : असोज २८ देखि कात्तिक ३ सम्म हुनेछ ।