काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर आज शनिबार नेपाल आइपुग्ने भएका छन् । नेपाल क्रिकेट संघ(क्यान) ले मुख्य प्रशिक्षक प्रभाकर शनिबार बेलुका नेपाल आइपुग्ने जनाएको छ । क्यानका अनुसार प्रभाकर बेलुका ६:१० बजे त्रिभुवन विमानस्थल आइपुग्ने छन् ।
मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केहि साता अघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको जनाएको छ । नेपालको मुख्य प्रशिक्षकका रुपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्धको रहने छ । नेपाली टोली भदौ पहिलो साता केन्या भ्रमणका लागि निस्कने छ ।
केन्यामा रहँदा नेपालले ५ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । नेपालको ३ खेलको ५० ओभरको सिरिज पनि रहेको छ । भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन् । प्रभाकरले भारतका लागि ३९ टेस्ट र १ सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए ।
उनले अफगानिस्तानको बलिङ प्रशिक्षक रहेर काम गरिसकेका छन् । उनले रणजी ट्रफी टिम दिल्लीसँगै राजस्थान र युपी क्रिकेट एसोसियनको प्रशिक्षक भएर काम गरिसकेका छन्।