काठमाडौं ।
पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगको सफल आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले तयारीलाई तीव्रता दिएको छ । क्यानले पहिलो संस्करणको प्रतियोगिताका लागि खेलाडी छनोट देखि मैदान मर्मत लगायतको कामलाई तीव्र रुपमा अघि बढाएको हो ।
प्रतियोगिता सुरु हुन अब ३९ दिन मात्र बाँकी रहेको छ । टियु क्रिकेट मैदानमा आयोजना हुने पहिलो संस्करणको प्रतियोगिता असोज ८ बाट कात्तिक ५ गतेसम्म हुनेछ ।
लिगको गर्भनिङ काउन्सिलका एक सदस्यले खेलाडी ड्राफ्टको काम अन्तिम चरणमा पुगेको बताए । तर, वर्षात मौसमको कारण मैदान सुधारको काममा केही समस्या आएको उनले बताए । तर, गर्व गर्न लायक प्रतियोगिता बनाउने गरि तयारी भएको उनले बताए ।
‘लिग सुरु हुन धेरै समय बाँकी नरहेकोले यसका लागि चाहिने हरेक काम तीव्र गतिमा भईरहेको छ,’ खेलपाटीसँग उनले भने, ‘समय कम रहे पनि तयारीका लागि यो हाम्रो लागि पर्याप्त हो । हरेक समर्थकलाई गर्व गर्न लायकको प्रतियोगिता बनाउने हाम्रो प्रयत्न रहेको छ ।’
उनले यस लिगलाई एसोसियटकै स्तरीय र फरक बनाउन लागिपरेको बताए । ‘क्यान के कस्तो लिग गराउदै छ भनेर बाहिर बढि चर्चाको बिषय बनाउने भन्दा पनि गरेर देखाउन चाहन्छौँ,’ उनले भने ‘केही वर्षमा एसोसिएट र केहि कमजोर टेस्ट राष्ट्रहरुमा भन्दा यो लिग स्तरिय र फरक हुनेछ ।’
क्यानले प्रतियोगितामा विभिन्न ६ शहरका ६ टोलीको सहभागीता रहने जनाएको छ । क्यानले लिगमा सहभागी रहने चार टोलीको नाम र टिम मालिकको घोषणा गरिसकेको छ ।