अलमुताईरीले पठाए एन्फालाई पत्र, यस्तो छ अलमुताईरीको जबाफ?

Image

काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जवाफी पत्र पठाएका छन् ।मुख्य प्रशिक्षक अलमुताइरीले बिहीबार एन्फालाई इमेलमार्फत जवाफी पत्र पठाएका हुन् ।

अल्मुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीच विवाद भएपछि एन्फाले सेनाका पूर्व उपरथी समेत रहेका पूर्व राष्ट्रिय खेलाडी भिक्टर राणाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । सोही छानविन समितिले दिएको प्रतिबेदनका आधारमा पत्र पठाउँदै एन्फाले अल्मुताइरीसँग जवाफ मागेको थियो ।

अल्मुताइरीले जवाफ पठाएको जानकारी दिदै एन्फा महासचिव किरण राईले भने,‘ सोचे जस्तो जवाफ चित्तबुझ्दो आएन । छानविन समितिको वैधतामाथि नै प्रश्न गर्नुभएको छ । समिति कानुनुसम्मत नभएको जीकिर गर्नुभएको छ ।’

अल्मुताइरीले समितिलगायत अन्य विषयमा पनि पत्रमा उल्लेख गरेको महासचिव राईले बताए । ‘हामी पत्रको जवाफको अध्ययन गरिरहेका छौं । अध्ययनपछि यस विषयमा छलफल गर्नेछौं, उनले भने । एन्फाले अल्मुताइरीका विषयमा निर्णय गर्ने अधिकार पनि राईलाई नै दिएको थियो ।

एन्फाले साउन २४ गते अल्मुताइरीलाई पत्र लेखेको थियो । त्यो भन्दा अघिल्लो साता नै पत्र पठाएको एन्फाले दाबी गरेपछि आफूलाई त्यस्तो पत्र प्राप्त नभएको भन्दै अल्मुताइरीले सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका थिए । साउन २४ गतेको फेसबुक स्ट्याटसमा अल्मुताइरीले सोही दिन मात्र एन्फाबाट पत्र पाएको पनि प्रष्ट पारेका थिए । उनले आफ्नो वकिलसँगको परामर्शपछि एन्फालाई जवाफ पठाउने बताएका थिए ।

एन्फाले साउन २६ गते अलमुताईरीबारे निर्णय गर्ने जिम्मेवारी महासचिव राईलाई दिएको थियो । एन्फाको दोस्रो कार्यसमिति बैठकले कतारसँग समन्वय गरेर अलमुताईरीबारे निर्णय गर्ने जिम्मा राईलाई दिएको हो । छुट्टिमा रहेका अलमुताईरी हाल कतारमा रहेका छन् ।

आगामी असोजमा बंगलादेशविरुद्धको मैत्रीपूर्णमा उनी टोलीसँग हुने छैनन् ।एन्फाले उनको अनुपस्थितिमा प्रदिप हुमागाईलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । हुमागाईंले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अनुपस्थितिमा ११ असोजमा हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोली हेर्नेछन् ।

उक्त प्रतियोगिताका लागि ४० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् । उनको सहायकमा युगलकिशोर राई र गोलरक्षक प्रशिक्षकमा विनोद डंगोल छन् । यसअघि मुख्य प्रशिक्षक अब्दुल्लाहसँग असन्तुष्ट रहेका १० खेलाडीलाई प्रशिक्षक हुमागाईंले प्रशिक्षणमा बोलाएका छन् ।

यसअघि टिम बाहिर रहेका सुमन लामा भने अष्ट्रेलिया पुगेका छन् । यस्तै, सन्तोष तामाङ र दर्शन गुरुङ पनि अष्ट्रेलिया छन् । यता, यसअघि बाहिर रहेका कप्तान किरणकुमार लिम्बूसहित दिनेश राजवंशी, तेज तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, रोहित चन्द, विशाल राई, विशाल श्रेष्ठ र अनन्त तामाङले पुनरागमन गरेका छन् । यस्तै, विकेश कुथु, अभिषेक रिजाल, भरत खवास, रन्जित धिमाललाई प्रशिक्षणमा बोलाइएको छ ।

हुमागाईंले पहिलो पटक राष्ट्रिय टिम हेर्न लागेका हुन् । यसअघि हुमागाईंलाई ए डिभिजन लिगमा थ्रीस्टार क्लब र पहिलो फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसीमा आवद्ध थिए ।तर एनएसएलमा क्लवलेबीचमै हटाएकाे थियाे ।

नेपाली टिमः गोलरक्षकः किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ । डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ ।

मिडफिल्डरः संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदिप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरजज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट । फरवार्डः विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास