काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले आफूलाई अखिल नेपाली फुटबल संघ (एन्फा)ले बंगलादेशविरूद्वको मैत्रीपूर्ण खेलको लागि मात्रै नियुक्त गरेको बताएका छन्।
शुक्रबार एन्फा मुख्यालयमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले आफू १० वर्षदेखि अमेरिकामै प्रशिक्षण दिँदै आएको जानकारी दिँदै जन्मभूमिको सेवाको लागि फर्किएको बताए।
‘मैले पाएको एक अवसर हो यो । यसलाई आफुले दबाबका रुपमा नभई आफुले सहज रुपमा लिएको र राम्रो नतिजाका साथ यसलाई पार गर्ने हो,’ उनले पत्रकार सम्मेलनमा भने ।मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको अनुपस्थितिमा एन्फाले हुमागाईलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
नेपाली टोलीले आगामी असोजमा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ । मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा हुनेछ । जसका लागि हुमागाईलाई एन्फाले कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
एन्फाले आफुलाई क्षमता देखेर नै जिम्मेवारी दिएको कारण आफुले त्यसलाई सदुपयोग गर्ने उनले बताए ।’आफ्नो करियरको सफलता भन्दा पनि राष्ट्रिय टिमका लागि राम्रो गर्छु । म मा क्षमता देखेर नै एन्फाले यो जिम्मा दिएको होला,’ उनले भने, ‘आफ्ना पुराना सफलताले केही अर्थ राख्ने छै यो नयाँ जिम्मेबारी हो ।’
हुमागाईले आफ्नो पहिलो प्राथमिकता नेपाली फुटबल नै भएको बताए ।’नेपालको फुटबल आफ्नो पहिलो प्राथमिकतामा रहिरहन्छ,’ अमेरिका बस्दै आएका उनले भने ।
हुमागाईले आफु नेपाली फुटबलको अहिलेको समस्याको बारेमा बोल्न नचाहेको तर जानकारी पर्याप्त रुपमा राखेको बताए ।उनले ४० खेलाडी छनोट गर्दा देश बाहिर रहेका खेलाडीसँग आफुले कुरा गरेको समेत बताए ।
कार्यवाहक मुख्य प्रशिक्षक हुमागाईले ४० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा डाकेका छन् ।कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, विमल घर्ति मगर, अन्जन विष्ट, अनन्त तामाङ, लगायतका अनुभवी सिनियर खेलाडीले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।
मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षण छाडेका १० खेलाडी मध्ये सुमन लामा अटाएका छैनन् ।यस्तै एन्फाका प्रवक्ता सुरेश शाहले मुख्य प्रशिक्षक अलमुताईरी स्वास्थ्यको कारण उपस्थित नहुने भएकाले हुमागाईलाई नियुक्त गरिएको बताए ।
‘मुख्य प्रशिक्षक स्वास्थ्य अवस्थाको कारण उपलब्ध हुन नसकेकोले हुमागाईको नियुक्ति भएको हो । कोचका बारेमा महासचिबलाई जिम्मेवारी दिएकोले अहिले नबोलौ,’ प्रवक्ता शाहले भने ।
यो पनि : अलमुताईरीले पठाए एन्फालाई पत्र, यस्तो छ अलमुताईरीको जबाफ?
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जवाफी पत्र पठाएका छन् ।मुख्य प्रशिक्षक अलमुताइरीले बिहीबार एन्फालाई इमेलमार्फत जवाफी पत्र पठाएका हुन् । अल्मुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीच विवाद भएपछि एन्फाले सेनाका पूर्व उपरथी समेत रहेका पूर्व राष्ट्रिय खेलाडी भिक्टर राणाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । सोही छानविन समितिले दिएको प्रतिबेदनका आधारमा पत्र पठाउँदै एन्फाले अल्मुताइरीसँग जवाफ मागेको थियो ।
अल्मुताइरीले जवाफ पठाएको जानकारी दिदै एन्फा महासचिव किरण राईले भने,‘ सोचे जस्तो जवाफ चित्तबुझ्दो आएन । छानविन समितिको वैधतामाथि नै प्रश्न गर्नुभएको छ । समिति कानुनुसम्मत नभएको जीकिर गर्नुभएको छ ।’ अल्मुताइरीले समितिलगायत अन्य विषयमा पनि पत्रमा उल्लेख गरेको महासचिव राईले बताए । ‘हामी पत्रको जवाफको अध्ययन गरिरहेका छौं । अध्ययनपछि यस विषयमा छलफल गर्नेछौं, उनले भने । एन्फाले अल्मुताइरीका विषयमा निर्णय गर्ने अधिकार पनि राईलाई नै दिएको थियो ।
एन्फाले साउन २४ गते अल्मुताइरीलाई पत्र लेखेको थियो । त्यो भन्दा अघिल्लो साता नै पत्र पठाएको एन्फाले दाबी गरेपछि आफूलाई त्यस्तो पत्र प्राप्त नभएको भन्दै अल्मुताइरीले सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका थिए । साउन २४ गतेको फेसबुक स्ट्याटसमा अल्मुताइरीले सोही दिन मात्र एन्फाबाट पत्र पाएको पनि प्रष्ट पारेका थिए । उनले आफ्नो वकिलसँगको परामर्शपछि एन्फालाई जवाफ पठाउने बताएका थिए ।
एन्फाले साउन २६ गते अलमुताईरीबारे निर्णय गर्ने जिम्मेवारी महासचिव राईलाई दिएको थियो । एन्फाको दोस्रो कार्यसमिति बैठकले कतारसँग समन्वय गरेर अलमुताईरीबारे निर्णय गर्ने जिम्मा राईलाई दिएको हो । छुट्टिमा रहेका अलमुताईरी हाल कतारमा रहेका छन् । आगामी असोजमा बंगलादेशविरुद्धको मैत्रीपूर्णमा उनी टोलीसँग हुने छैनन् ।एन्फाले उनको अनुपस्थितिमा प्रदिप हुमागाईलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । हुमागाईंले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अनुपस्थितिमा ११ असोजमा हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोली हेर्नेछन् ।
उक्त प्रतियोगिताका लागि ४० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् । उनको सहायकमा युगलकिशोर राई र गोलरक्षक प्रशिक्षकमा विनोद डंगोल छन् । यसअघि मुख्य प्रशिक्षक अब्दुल्लाहसँग असन्तुष्ट रहेका १० खेलाडीलाई प्रशिक्षक हुमागाईंले प्रशिक्षणमा बोलाएका छन् ।
यसअघि टिम बाहिर रहेका सुमन लामा भने अष्ट्रेलिया पुगेका छन् । यस्तै, सन्तोष तामाङ र दर्शन गुरुङ पनि अष्ट्रेलिया छन् । यता, यसअघि बाहिर रहेका कप्तान किरणकुमार लिम्बूसहित दिनेश राजवंशी, तेज तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, रोहित चन्द, विशाल राई, विशाल श्रेष्ठ र अनन्त तामाङले पुनरागमन गरेका छन् । यस्तै, विकेश कुथु, अभिषेक रिजाल, भरत खवास, रन्जित धिमाललाई प्रशिक्षणमा बोलाइएको छ । हुमागाईंले पहिलो पटक राष्ट्रिय टिम हेर्न लागेका हुन् । यसअघि हुमागाईंलाई ए डिभिजन लिगमा थ्रीस्टार क्लब र पहिलो फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसीमा आवद्ध थिए ।तर एनएसएलमा क्लवलेबीचमै हटाएकाे थियाे ।