काठमाडौं ।
अब्दुल्लाह अल्मुताइरी बिरामी विदामा रहँदा अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रदीप हुमागाईंलाई राष्ट्रिय टिमको कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मा दिनु धेरैका लागि अप्रत्यासित थियो ।
राष्ट्रिय टिमको प्रशिक्षक बन्न प्रो लाइसेन्स प्राप्त हुनुपर्ने फिफाको बाध्यकारी नियम विपरीत ए लाइसेन्सप्राप्त नेपाली प्रशिक्षकलाई छाडेर अमेरिकी नागरिक हुमागाईं एन्फाको रोजाईमा परे ।
बंगलादेशसँगको ११ असोजमा हुने मैत्रीपूर्ण फुटबल खेलका लागि कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मेवारी पाएपछि हुमागाईं बुधबार नेपाल आएका हुन् । विहीबार पत्रकार सम्मेलनमा उनले जन्मभूमिबाट पाएको यति ठूलो अवसर अप्रत्यासित रहेको बताए ।
यद्यपि २०७५ सालमा एएफसी ए लाइसेन्स प्रशिक्षण कोर्स पूरा गरेयता नै उनी राष्ट्रिय टिमको प्रशिक्षक बन्न प्रयासरत थिए । आफूलाई एक पटक अवसर दिन सार्वजनिक रुपमै अनुनय गरेका थिए । प्रशिक्षक बन्ने प्रस्ताव आउनु अप्रत्यासित भएको तर आफू त्यसका लागि पहिल्यैदेखि तयार रहेको उनले जिकिर गरे ।
‘मैले मेरो प्रशिक्षण करिअरको सुरुवातदेखि नै चुनौतीपूर्ण समय बेहोरेको छु । यो मेरो मिहिनेत, अनुभव र विश्वासको परिणाम पनि हो’, हुमागाईंले भन, ‘म यो समयको पर्खाइमा थिएँ । अब देखाउने समय आएको छ ।’
कतार फुटबल संघको सहयोगमा डेढ वर्षअघि नेपाली टिम सम्हाल्ने जिम्मेवारी पाएका कुवेती प्रशिक्षक अल्मुताइरी एसियन कप छनोटपछि नेपाल फर्किएका छैनन् । एसियन कप छनोटअघि बन्द प्रशिक्षणमा खेलाडीसँगको गम्भीर विवाद, एन्फाको वर्तमान कार्यसमितिसँग पुरानो ‘दुश्मनी’लगायतका कारण अल्मुताइरीको नेपाल फिर्ती लम्बिरहेको छ ।
अल्मुताइरीको अनुपस्थितिमा सहायक प्रशिक्षकलाई जिम्मेवारी दिन खेलाडी–प्रशिक्षक विवाद जाँचबुझ समितिको प्रतिवेदन बाधक बन्यो । त्यसपछि एन्फाले हुमागाईंलाई बोलाउने सजिलो बाटो रोजेको हो । गत वैशाखमा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमै खेलाडी र प्रशिक्षकबीच विवाद भएपछि १० खेलाडीले बन्द प्रशिक्षण छाडेर हिँडेका थिए । यो प्रकरणमा मुछिएका सहायक प्रशिक्षकलाई कार्यवाहक जिम्मा दिन एन्फा नैतिक अप्ठेरोमा परेको हो ।
२६ साउनमा बसेको एन्फा कार्यसमितिको बैठकले जिम्मेवारी दिएको तीन दिनपछि हुमागाईंले एन्फासँगको समन्वयमा अमेरिकाबाटै ४० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए । उनले क्याम्प छाडेपछि टिमबाट निकालिएका खेलाडीलाई टिममा फर्काएर एन्फा कार्यसमिति बैठकको निर्णयलाई कार्यान्वयन गरे ।
असार ६ गते निर्वाचित पंकज विक्रम नेम्वाङ नेतृत्वको एन्फा कार्यसमितिको पहिलो बैठकले अल्मुताइरीले ‘कारबाही’ गरेका १० खेलाडीलाई ससम्मान राष्ट्रिय टिममा फिर्ता बोलाउने निर्णय गरेको थियो ।
हुमागाईंले बिहीबार राष्ट्रिय टिममा बोलाइएका खेलाडीसँग पहिलो सत्र बिताएका छन् । पहिलो दिन भएकाले सैद्धान्तिक प्रशिक्षण दिइएको र शुक्रबारदेखि नियमित प्रशिक्षण सुरु हुने बताए । पहिलो दिन १७ जना खेलाडीमात्र उपस्थित थिए ।
यस्तै हुमागाईंले अब्दुल्लाह अलमुताईरी र खेलाडी विवादबारे आफू बोल्न नचाहेको समेत बताएका छन् । ‘यो विषयमा मलाई थाहा भएन । यो राजनीतिक कुरा हो कि होईन कि मलाई थाहा छैन । अलमुताईरी र खेलाडी विवादको बारे मलाई जानकारी छैन । समाचारहरु हेरेको छु । तर म यो विषयमा केहि बोल्नै चाहन्न’, उनले भने ।
‘त्यो बारेमा थाहा नभएको होईन म बोल्च चाहँदैन । न्युज त मैले पढिरहेको हुन्छु । तर म त्यो विषयमा बोल्दिन । त्यो पदमा पनि छैन र मेरो जिम्मेवारी पनि होईन’, हुमागाईंले भने ।
‘अहिलेको मेरो सोच भनेको टिम तयारी हो । एन्फाले मलाई प्रस्ताव गरेर राष्ट्रिय टोली जस्तो महत्वपूर्ण कुरामा विश्वास गरेर जिम्मेवारी दिएको छ । यो मेरो मात्र जिम्मेवारी होईन । प्रत्यक्ष अप्रत्यक्षरुपमा पत्रकारदेखि सबैको जिम्मेवारको कुरा हो । यो देशको कुरा हो’, उनले भने ।
हुमागाईंको आगमनसँगै नेपालले विहीबारदेखि औपचारिक रुपमा अभ्यास सुरु गरेको छ । अभ्यास ललितपुरको लगनखेलस्थित रहेको आर्मी ब्यारेकमा अभ्यास हुनेछ । त्यहाँ आएर अभ्यास हेर्न हुमागाई समर्थकलाई आग्रह गर्दछन् । ‘आर्मीको नियम के हुन्छ मलाई थाहा छैन । तर हरेक बुधबार समर्थकहरु अभ्यासमा आएर खेल हेर्न सक्नुहुन्छ’, उनले भने ।
‘खेलाडीलाई सम्मान नगरी हामी अघि बढ्न सक्दैनौं । यो मेरो मात्र दायित्व होईन । यो राष्ट्रिय टोलीको कुरा हो । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेललाई हामी मैत्रीपूर्ण मात्र नहेरेर जितको रुपमा तयारी गर्ने भन्ने छ । सबै जनाको सहकार्यमा हुने कुरा हो । म एक्लैले केहि पनि गर्न सक्दैन । सबैजना मिलेर अघि बढ्नुपर्छ’, उनले भने ।
हुमागाईंले आफूलाई बंगलादेशविरुद्धको लागि मात्र मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको पुष्टि गरे । ‘अहिले सामान्य यो खेलको लागि मात्र मलाई प्रस्ताव गरेको हो । कन्ट्राक्ट पेपर गरेको छैन । मैले नियुक्ती पत्र भने लिइसकेको छु । मलाई कस्तो भयो भने राष्ट्रिय प्रशिक्षकको जिम्मेवारी पाउने वितिक्कै प्रत्यक्ष अप्रत्यक्ष अप्ठारो अवस्थामा नेपाली फुटबल भए जस्तो मेरो व्यक्तिगत अनुभव रह्यो । मैले सबै कुराहरुलाई छाडेर सबैभन्दा ठूलो कुरा जन्मेको मातृभूमी हुन्छ । त्यहिँ भएर यसलाई स्वीकार गरिहालें’, हुमागाईंले भने ।
हुमागाईंको अप्रत्यासित करिअर
काभ्रेमा जन्मिएका हुमागाईं खेलाडीका रुपमा सफल होइनन् । उनीसँग ए डिभिजन लिग खेलेको अनुभव पनि छैन । काठमाडौं क्लबबाट खुकुरी कप र रानीपोखरी कर्नर टिम (आरसीटी)बाट शुभजन्मोत्सव कप खेलेका उनी त्यसयता खेलाडी जीवनबाट टाढिए ।
प्रशिक्षकका रुपमा पनि उनको करिअर अप्रत्यासित देखिन्छ । २०६८ सालको ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबबाट इन्टर्न प्रशिक्षकका रुपमा काम गरेको अर्को वर्ष घरेलु फुटबलको महारथी क्लब थ्रीस्टारले उनलाई सहायक प्रशिक्षक बनायो ।
२०६९ सालको लिग जित्नु केही समयअघि प्रमुख प्रशिक्षक मेघराज केसीले राजीनामा दिएपछि हुमागाईंले मुख्य प्रशिक्षकको हैसियतमा लिग उपाधि उचाले । यो उनको करिअरकै अप्रत्यासित अवसर र कोशेढुंगा थियो ।
लिग विजेता प्रशिक्षकका रुपमा उनले अर्को लिगसम्म थ्रीस्टारमा निरन्तरता दिन पाएनन् । सन् २०१३ मा काठमाडौं क्लबको प्रतिनिधित्व गर्दै महिला टिम लिएर नर्वेको फुटबल फेस्टिभलमा पुगे । सोही वर्र्ष उनले काठमाडौं युनिभर्सिटीको टिमसहित नर्वे भ्रमण गरे ।
लिग विजेता प्रशिक्षक भएर पनि ए डिभिजन क्लबको नजरमा नपरेका हुमागाईं २०१४ मा अमेरिका पलायन भए । ‘अमेरिका गएपछि पनि मैले मलाई मनपर्ने खेल फुटबललाई नै निरन्तरता दिन सकेँ’, हुमागाईंले यसलाई पनि आफ्नो करिअरको अप्रत्यासित अवसर मान्छन् ।
नेपाल फर्किएर २०७५ सालमा एन्फाबाटै एएफसी ए लाइसेन्स प्रशिक्षण कोर्स पूरा गरेका उनले नेपालको पहिलो फ्रेञ्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसीको प्रशिक्षक बन्ने अवसर पाए । लिगको बीचैमा बर्खास्तीमा परेका उनी आसन्न एनएसएलका लागि झापा एफसीको प्रशिक्षक बनेका छन् ।
अल्मुताइरीभन्दा फरक सोच
मुख्य प्रशिक्षक बनेपछिको पहिलो पत्रकार सम्मेलनमा हुमागाईंले समर्थकलाई पनि राष्ट्रिय टिमको प्रशिक्षण हेर्ने व्यवस्था मिलाउन प्रयास गर्ने बताए । यो पत्रकारलाई समेत निषेध गरी ‘क्लोज डोर’मा प्रशिक्षण गराउने प्रो लाइसेन्स प्रशिक्षक अल्मुताइरीको रणनीतिभन्दा फरक तर्क हो ।
यद्यपि समर्थकलाई राष्ट्रिय टिमको प्रशिक्षण हेर्न पाउने निर्णय गर्ने अधिकार एन्फामा निहीत हुनेछ । हुमागाईंले सातामा एकपल्ट समर्थकले पनि आफूलाई मनपर्ने खेलाडीले प्रशिक्षण गरेको हेर्न पाउने व्यवस्थाका लागि एन्फा व्यवस्थापनसँग पहल गर्ने बताएका छन् । फुटबल संस्कृतिको विकास गर्न यो अनिवार्य भएको उनको तर्क छ ।
राष्ट्रिय टिम मिडियामैत्री बनाउने र समर्थकलाई पनि प्रशिक्षण हेर्न अनुमति दिने योजना अल्मुताइरीलाई चुनौती दिने रणनीतिको हिस्सा हो ? भन्ने प्रश्नको हुमागाईंले खण्डन गरे । ‘यो आआफ्नो सोचको कुरा हो । तपाईंले जसरी अर्थ लगाउनु भए पनि हुन्छ । मेरो बुझाइमा यो प्रशिक्षण र सिकाइको प्रक्रिया हो । समर्थकको उपस्थितिले खेलाडीको मनोबल बढ्छ । समर्थकमा पनि अपनत्व हुन्छ । यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो’, उनले भने, ‘सबैलाई सम्मान गरेर मात्र सफल हुन सकिन्छ ।’
यसअघि अल्मुताइरीले समय र अनुशासन भन्दै खेलाडी र टिम व्यवस्थापनलाई नियन्त्रणमा राख्ने प्रयास गरेका थिए । निश्चित समय दिएर खेलाडीलाई पत्रकार सम्मेलनमा पठाएका उनले समय सकिएपछि बोल्दाबोल्दै छाड्न लगाएको उदाहरण छ ।
१० खेलाडीको अनुपस्थितिमा एसियन कप खेलेको नेपाली टिम अहिले छिन्नभिन्न स्थितिमा छ । नयाँ खेलाडी र सिनियर खेलाडीको तालमेल मिलाउनु हुमागाईंको मुख्य चुनौती हो । उनले असोज ११ गते दशरथ रंगशालामा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेल जित्ने लक्ष्य राखेका छन् ।
अल्मुताइरी कालको प्रशिक्षण टिम हटाएर उनले सहायक प्रशिक्षकमा युगलकिशोर राई र गोलरक्षक प्रशिक्षक विनोद डंगोललाई नियुक्त गरेका छन् ।
राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा बोलाईका ४० खेलाडी :
गोलरक्षक– किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ । डिफेन्डर – अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ ।
मिडफिल्डर – संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट । फरवार्ड– विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास ।