काठमाडौं ।
नेपाल टी–२० लिगको खेलाडी ड्राफ्ट, लिगमा सहभागी रहने बाँकी दुई टोलीको घोषणा र लिगको लोगो सार्वजनिक एकै पटक गरिने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको ड्राफ्टसहित बाँकी टिम र लिगको आधिकारिक लोगो एकै पटक भदौ दोस्रो साता सार्वजनिक गर्ने तयारी गरेको हो क्यानले लिगको मिति असोज ८ देखि कात्तिक ५ सम्म हुने घोषणा गरिसकेको छ।
यस्तै लिगमा सहभागी हुने ६ टोलीमध्ये ४ टिम घोषणा भइसकेको छ। तर, प्रतियोगिता नजिकिँदै गर्दा क्यानले बाँकी दुई टोली, खेलाडी ड्राफ्ट र अधिकारी लोगो सावर्जनिक गर्न सकेको छैन। क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठकले लिगको तयारीका कारण ढिला हुन गएको बताए।
‘नेपाली क्रिकेटलाई नयाँ लेभलमा पुर्याउन नेपाल टी–२० लिगका ६ टोली नै हामीसँग सुरुआतका दिन नै तयार थिए ६ वटै टोलीलाई एकै दिन सार्वजनिक गर्ने हाम्रो तयारी रहे पनि सम्बन्धित टोलीका मालिकहरुले हाम्रो उपस्थितिमा मात्र गर्न अनुरोधमा पछि सारेका थियौं। अब खेलाडी ड्राफ्ट र टिम सार्वजनिक कार्यक्रम एकै पटक आयोजना हुनेछ,’ पाठकले भने, ‘लिगको लागि मैदान तयारको लगायतका कामहरू पनि तीव्र रूपले अघि बढिरहेको छ।’
नेपाल टी–२० लिगको पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले प्रतिस्पर्धा गर्नेछन्। जसमा विराटनगर र जनकपुरको स्वामित्व भारतीय कम्पनीको रहेको छ। ड्राफ्टका लागि खेलाडी वर्गिकरणको कामसमेत अन्तिम चरणमा पुगेको नेपाल टी–२० लिग गर्भनिङ काउन्सिलका सदस्यसमेत रहेका पाठकले बताए।
क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिइसकेको छ।यस्तै प्रतियोगितालाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघि नै मान्यता दिइसकेको छ।












