विश्व क्रिकेट जगतमा जताततै सन्दीप, यस्तो छ सन्दीपको ६ महिना व्यस्त तालिका

Image

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले यूएईमा हुने इन्टरनेशनल लिग टी-२० क्रिकेट प्रतियोगिता डिजर्ट भाइपर्सबाट खेल्ने भएका छन् ।

लान्सर क्यापिटलको स्वामित्वमा रहेको डिजर्ट भाइर्पसले शुक्रबार लिगका लागि १४ विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । जसमा सन्दीपसहित साम बिलिङ्स, वानिन्दु हसरंगा, टम कुरान, शेल्डन कट्रेल, बेन डकेट, एलेक्स हाल्सलगायत छन् ।

२२ वर्षीय लेग स्पीनर सन्दीप यसअघि नै विश्वका नाम चलेका स्टार खेलाडीहरुसँगै मार्की खेलाडीको रुपमा अनुबन्ध भएका थिए । त्यसबाट उनलाई भाइपर्सले लिएको हो । डिजर्ट भाइपर्सको डिरेक्टरमा टम मुड्डी छन् भने मुख्य प्रशिक्षकमा जेम्स फोस्टर छन् ।

इमिरेट्स क्रिकेट बोर्डको आयोजनामा हुन लागेको पहिलो संस्करणको इन्टरनेशनल लिग टी-२० क्रिकेट आगामी वर्ष जनवरी ६ देखि फेब्रुअरी १२ सम्म हुनेछ । जसमा ६ फ्रेन्चाइज टिमले डबल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

हरेक टिममा १८ खेलाडी हुनेछन् । जसमध्ये १४ खेलाडी विदेशी रहने व्यवस्था छ । भाइपर्ससहित ६ वटै टिमले आफ्नो टिममा रहने १४ विदेशी खेलाडीको नाम सार्वजनिक गरिसकेका छन् । हरेक टिमको बाँकी ४ खेलाडी भने यूएईकै हुनेछन् । यस्तै प्लेइङ लिस्टमा ९ जना विदेशी खेलाडी हुनेछन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को तीन फ्रेन्चाइजले यस प्रतियोगितामा तीन वटा टिम लिएका छन् । जसमा मुम्बई इन्डियन्सको एमआई इमिरेट्स, कोलकता नाइट राइडर्सको अबु धाबी नाइट राइडर्स र दिल्ली क्यापिटल्सको दुबई क्यापिटल्स छन् । यस बाहेक डिजर्ट भाइपर्स, गल्फ जायन्ट र शारजहा वारियर्स छन् ।

यी हुन् भाइपर्सले अनुबन्ध गरेका १३ विदेशी खेलाडीहरू :

एलेक्स हेल्स (इंग्ल्याण्ड), कोलिन मुनरो (न्यूजिल्याण्ड), टम करन (इंग्ल्याण्ड), वानिन्दु हसरंगा (श्रीलंका), साम बिलिङ्स (इंग्ल्याण्ड), सन्दीप लामिछाने (नेपाल), शेरफन रदरफोर्ड (वेस्ट इन्डिज), बेन डकेट (इंग्ल्याण्ड), रुबेन ट्रम्पेलम्यान (नामिबिया), शकिब महमूद (इंग्ल्याण्ड), बेनी होवेल (इंग्ल्याण्ड), शेल्डन कोट्रेल (वेस्ट इन्डिज) र आजम खान (पाकिस्तान)।

सन्दीपको व्यस्त तालिका

राष्ट्रिय टिम र विभिन्न फ्रेन्चाइज लिग गरी कप्तान सन्दीप आगामी ६ महिना व्यस्त हुनेछन् । यस सिजन कप्तान सन्दीप राष्ट्रिय टिमसहित विदेशी लिगमा पनि व्यस्त हुँदैछन् ।

जसमा यस पटक नेपालकै अहिलेसम्मकै भव्य भनिएको नेपाल टी-२० लिग समेत थपिनेछ । यस्तै फ्रेन्चाइज क्रिकेटका लागि उनी वेष्ट इन्डिजदेखि श्रीलंकासम्म पुग्ने तालिका छ । बिग बास लिगमा छनोट भए अष्ट्रेलिया समेत पुग्नेछन् । यस्तै राष्ट्रिय टिमबाट केन्या भ्रमणमा जानेछन् ।

साउन पहिलो साता स्कटल्याण्डमा क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक शृंखला खेलेर आएपछि सन्दीपलगायत नेपाली खेलाडी केही हप्ता छुट्टी थियो ।

तर अफ्रिकन राष्ट्र केन्यासँग पाँच टी-२० आई र तीन एक दिवसीय खेल खेल्ने पक्का भएपछि नेपाली टोली अहिले प्रशिक्षणमा छ र अर्को साता सन्दीपको कप्तानीमा नेपाली टोली केन्या जाँदैछ ।

अर्को साता राष्ट्रिय टिमबाट केन्या भ्रमण जाने सन्दीप त्यहाँ टी-२० शृंखला खेलेर यही अगष्ट अन्तिमदेखि हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने सेन्ट किट्स एण्ड नेभिसमा जानेछन् । अगष्ट ३१ देखि हुने सीपीएलमा उनी जमैका तलहवाजमा अनुबन्ध भएका छन् । सीपीएल सेप्टेम्बर ३० सम्म हुनेछ ।

राष्ट्रिय टिमको खेलतालिकासँग जुधेपछि सन्दीपले सीपीएलअघि अगष्ट २४-२८ मा हुने सिक्स्टी क्रिकेट प्रतियोगिता भने गुमाउनेछन् । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म काठमाडौंमा हुने नेपाल टी-२० लिग हुँदैछ । यसको ड्राफ्ट हुन बाँकी रहेकोले सन्दीपको टिम तय हुन बाँकी छ ।

यदी सन्दीप नेपाली लिगमा पनि अनुबन्ध भएमा सीपीएलसँग मिति जुध्नेछ । जसले गर्दा उनले केही खेल गुमाउन सक्छन् । यसैगरी डिसेम्बरमा श्रीलंकामा हुने लंका प्रिमियर लिगमा सन्दीप दम्बुला जायन्ट्समा अनुबन्ध भएका छन् । यो लिग अगष्टमा हुने भनिएपछि श्रीलंकाको आर्थिक अवस्थाका कारण स्थगित भएको थियो र अब डिसेम्बर ६ देखि ३१ सम्म हुने भएको छ ।

अष्ट्रेलियामा डिसेम्बर १३ देखि सुरु हुने बिग बास लिग (बीबीएल) मा पनि सन्दीप विदेशी खेलाडीको ड्राप्टमा समावेश भएका छन् । यसअघि बीबीएलमा विदेशी खेलाडी सिधै अनुबन्ध भएर खेल्ने गरे पनि आगामी सिजनदेखि विदेशी खेलाडी ड्राप्टबाट अनुबन्ध गरिने भएको छ । यसअघि सन्दीपले सिधै अनुबन्धन भएर मेलवर्न स्टार्स र होबार्ट हुरिकेन्सबाट खेलेका थिए ।

बीबीएल र यूएईमा हुने इन्टरनेशनल लिग टी २० को मिति पनि जुधेको छ । तर बीबीएलभन्दा इन्टरनेशनल लिगको तलब राम्रो छ । यस्तो अवस्थामा सन्दीप बीबीएलमा छनोट भए पनि उनको रोजाइ इन्टरनेशनल लिग नै हुन सक्छ ।

सन्दीपको व्यस्त खेल तालिका :

केन्या भ्रमणमा पाँच टी-२० आई खेल : अगष्ट २५ देखि ३० सम्म ।

सीपीएल (जमैका तलावाज) : अगस्टदे ३१ देखि सेप्टेम्बर ३० सम्म ।

नेपाल टी-२० लिग (टिम तय हुन बाँकी) : सेप्टेम्बर २४ देखि अक्टोबर २२ सम्म .

लंका प्रिमियर लिग (दम्बुला जायन्ट्स) : डिसेम्बर ६ देखि ३१ सम्म ।

इन्टरनेसल लिग टी-२० (डिजर्ट भाइपर्स) : २०२३ जनवरी ६ देखि फेब्रुअरी १२ सम्म ।

बिग ब्यास लिग (ड्राफ्टमा समावेश) : छनोट भएमा डिसेम्बर १३ देखि २०२३ फेब्रुअरी ४ सम्म ।