भारतले एक खेल अगावै जित्यो जिम्बाब्वेसँगको सिरिज, यी खेलाडी बने जितका ‘नायक’

Image

काठमाडौं ।

पाहुना टोली भारतले जिम्बाब्वेसँगको एकदिवसीय सिरिज जितेको छ। शनिबार हरोरे स्पोर्ट्स क्लब मैदानमा भएको दोस्रो खेलमा जिम्बाब्वेलाई विकेटले हराउँदै भारतले एक खेल अगावै सिरिज २–० ले जितेको हो। पहिलो खेलमा भारत १० विकेटले विजयी भएको थियो।

जिम्बाब्वेले दिएको १ सय ६२ रनको लक्ष्य भारतले २५.४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। भारतका जितमा सञ्जु सामसनले सर्वाधिक रन बनाए। उनले ३९ बलमा ४ छक्का र ३ छक्कासहित अविजित ४३ रनको योगदान दिए।

यस्तै, शुभमन गिल र शिखर धवनले ३३–३३ रन तथा दीपक हूडाले २५ रन जोडे। कप्तान केएल राहुल १ र इशान किशन ६ रनमा आउट हुँदा अक्षर पटेल ६ रनमा नटआउट रहे। बलिङमा लुक जोंगवेले २, सिकन्दर राजा, भिक्टर न्याउची र तनाका चिवांगाले १–१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ थालेको जिम्बाब्वेले ३८.१ ओभरमा अलआउट हुँदै १ सय ६१ रन बनाएको थियो। उसका लागि सेन विलिम्यसले सर्वाधिक ४२ रन बनाए। यस्तै रायन बर्लले अविजित ३९, सिकन्दर राजा र इनोसेन्ट कियाले १६–१६ रन बनाए।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्। भारतका लागि बलिङमा शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए। त्यस्तै, दीपक हूडा, प्रसिद्ध कृष्णा, अक्षर पटेल, कुलदीप यादव र मोहम्मद सिराजले १–१ विकेट हात पारे।

भारतलाई २ विकेट रनआउटको रूपमा प्राप्त भयो। यस जितसँगै तीन खेलको सिरिजमा भारतले २–० अग्रतासमेत लिएको छ। यी दुई देशबीचको अन्तिम तथा तेस्रो म्याच सोमबार हुनेछ।