काठमाडौं ।
एसिया कप क्रिकेटअघि पाकिस्तानी क्रिकेट टिमलाई ठूलो झड्का लागेको छ। टिम तीब्र गतिका बलर शाहिन शाह अफ्रिदीले एसिया कप क्रिकेट गुमाउने भएका छन्। घुडाँको समस्याका कारण अफ्रिदी एसिया कपबाट बाहिरिएका हुन्।
घुडाँकै समस्याका कारण अफ्रिदीले जारी नेदरल्याण्ड्सको सिरिजसमेत गुमाएका थिए। एसिया कप अगस्ट २७ बाट यूएईमा सुरु हुनेछ। प्रतियोगितामा ६ टोली सहभागी हुँदैछन्। एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेको छ।
पाकिस्तान समूह ‘ए’ मा रहेको छ। समूह ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान र छनोटबाट आउने एक टोली रहेका छन्। कुवेत, हङकङ, सिंगापुर र कुवेतमध्ये एक टोली यस समूहमा रहने छन्।
टी–२० फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन्। सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन्। त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ।
प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ। पाकिस्तानले अगस्ट २८ मा भारतको सामना गर्दैछ। अफ्रिदी एसिया कपबाट बाहिरिनु भारतलाई केही राहत हो।
यसअघि यूएईमै भएको टी–२० विश्वकपमा भारतको टप अर्डरलाई अफ्रिदीले आउट पारेका थिए। उनले रोहित शर्मालाई शून्य, केएल राहुललाई ३ र विराट कोहलीलाई ५७ रनमा आउट पारेका थिए।
एसिया कपका लागि पाकिस्तानी टोलीः बाबर आजम (कप्तान), शादाब खान, आसिफ अली, फखर जमान, हैदर अली, हरिस रउफ, इफ्तिखर अहमद, खुशदिल शाह, मोहम्मद नवाज, मोहम्मद रिजवान, मोहम्मद वासिम जुनियर, नसीम शाह, शाहनवाज दहनी, उस्मान कादिर।